Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

नाकामा तस्करी धन्दा

पहिलो निशानामा परे एसपी कार्की

उद्घोष सम्वाददाता
४ कार्तिक २०८१, आइतवार

विराटनगर । गत फागुन पहिलो सातादेखि  जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी प्रमुख बनेर विराटनगर आएका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जिल्लाको चार्ज बुझ्ने बित्तिकै घुमुवा प्रहरीहरूको टोली फिर्ता बोलाएका थिए ।

‘अब विशेष अवस्थामा बाहेक सादा पोशाकमा प्रहरी जिल्लामा परिचालन हुने छैन, मोरङमा अनियमित गतिविधिमा प्रहरी संलग्न हुने छैन’, पहिलोपटक आफ्नै कार्यकक्षमा पत्रकारहरूमाझ एसपी कार्कीले भनेका थिए ‘मैले सादा पोशाकका सबै प्रहरी फिर्ता बोलाएको छु ।’ 

केही समय उनले घुमुवा प्रहरी परिचालन गरेनन् । त्यसबेला घुमुवाको जिम्मेवारीमा रहेका प्रहरीहरू जिम्मेवारी खोसिएको गुनासो गर्थे । यसरी सुरूमा अनियमितताविरूद्ध दरिलो रूपमा उत्रिने प्रतिबद्धता प्रकट गरेका उनै एसपी कार्की अनियमिततामै संलग्न रहेको बात लागेपछि प्रहरी हेडक्वार्टर तानिएका छन् । 

प्रहरी उच्च स्रोतका अनुसार एसपी कार्कीबारे धेरै पहिलेदेखि नै गुनासो आइरहेका थिए । तर, दशैंको मुखमा नाकामा फस्टाएको अवैध धन्दालाई उनले नियन्त्रणको साटो प्रोत्साहित गरेको आरोप लाग्यो । त्यही आरोपले एक वर्षे कार्यकाल पनि पूरा गर्न नपाई उनी हेडक्वार्टर तानिएका हुन् । 

सामान्य अवस्थामा प्रहरीका इञ्चार्जहरू एक वर्षमा मात्रै सरूवा हुने चलन छ । एसपी कार्की भने आठ महिनामै फिर्ता भएका हुन् । यसका पछि मोरङका नाकाहरूमा भइरहेको खुला तस्करी मुख्य कारण भएको उच्च प्रहरी स्रोतको भनाइ छ ।

‘उनका बारेमा पहिल्यैदेखि गुनासो आइरहेको थियो’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने ‘दशैंअघिको गतिविधि झनै धेरै शंकास्पद देखियो । सोही कारण उनलाई काठमाडौं तानिएको हो ।’ 

ती अधिकारीका अनुसार प्रहरी आचरणविपरीत काम गरेको आरोप उनीमाथि लागेको छ । उनलाई प्रहरी प्रधान कार्यालय तानेर जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा एसपी राजन लिम्बूलाई पठाइएको छ । लिम्बू प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।

प्रहरी प्रधान कार्यालयले ‘प्रहरी आचरण विपरीत’ देखेको एसपी कार्की सरूवाको मुख्य कारण नै नाकामा चलिरहेको तस्करी बन्यो । यसबारे उद्घोषले दशैंअघि समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशित भएपछि मोरङ प्रशासन र प्रदेश प्रहरी कार्यालयले छानबिन थालेका थिए ।

नेपाली कांग्रेस मोरङले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापन नै बुझाएर तस्करी नियन्त्रणको मागसमेत गरेको थियो । यसरी सर्वत्र गुनासो चलिरहादा दशैंको बीचैमा एसपी कार्की काठमाडौं तानिएका हुन् । 

केही महिनायतादेखि नाकाहरूमा भइरहेको तस्करीले एसपी कार्कीलाई कार्यकाल सकिनु अगावै जिल्लाबाट बहिर्गमनमा पारेको हो । चाडपर्व नजिकिादै गर्दा मोरङको दक्षिणी क्षेत्र मध्यरातमा पूरै सक्रिय हुन थालेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय  प्रशासनको समर्थन पाएर कारोबारीले दशैंको मुखमा भन्सार छलीको कारोबार ह्वात्तै बढाएका थिए ।

नाका क्षेत्रका स्थानीयबासीका अनुसार रातको १२ बजेपछि तीन घण्टा सीमा  नाकाहरूमा भन्सार छलीका मालवस्तु बोक्ने टेम्पोको भिड लाग्ने गरेको थियो । सबैभन्दा बढी भिड विराटनगर भन्सार नाकामा हुादै आएको थियो । भन्सार छलीका सामान बोक्न टेम्पोको प्रयोग हुादै आएको छ । 

मोटरसाइकलकै गतिमा दौडने र गाउाका गल्ली भित्र पनि छिराउन सकिने भएकाले तस्करीका सामान ओसार्ने मारूती भ्यान अहिले बिस्थापित भएर टेम्पो चलायमान भएका छन् । बिभिन्न नाकाबाट भन्सार छलीको कारोबार गर्न कारोबारीले रातिको समयका लागि प्रहरी र प्रशासनबाटै अनौपचारिक इजाजत पाएका थिए । 

स्रोतका अनुसार झापाका कपडाका ठूला कारोबारी सञ्जीव घोषले मोरङको नाका यस वर्ष सुरक्षित देखेर कपडाको कारोबार गर्न भारतीय नागरिक अशोक सहनीलाई खटाएका थिए । उनको समूहलाई जिल्लाको प्रहरी नेतृत्वले संरक्षण दिएको आरोप लागिरहेको थियो । 

‘त्यसबारे धेरै उजुरी आएपछि अनौपचारिक रूपमा सजग गराइएको हो’, प्रहरी स्रोतले भन्यो ‘तर, दशैं अघि आचरण विपरीतको कार्यशैलिले झनै बढावा पाएपछि नेतृत्वले उनलाई मोरङबाट फिर्ता बोलाएको हो ।’ 

मोरङका नाकाबाट खुलेआम भइरहेको तस्करीमा सशस्त्र प्रहरीको पनि मिलेमतो रहेको आरोप लाग्दै आएको छ । यद्यपि यसपटक नेपाल प्रहरीका एसपी कार्कीमात्रै ‘कारबाही’ को निशानामा परेका छन् ।

स्रोतका अनुसार भन्सार  नाकाबाट अकवर मिया, सवनम खातुन, सुरेश यादव, राजकुमार रौनियार, बब्लु अग्रवालले कपडाको कारोबार गर्छन् । गुड्डु मियाले मटेरूवा नाकाबाट, गणेश साह, ओम साहले दक्षिण गेटबाट कपडा नेपाल भित्र्याउने  काम गर्छन् ।  

पशुपति भगतले आलु प्याजको कारोबार गर्दै आएका छन् । ‘यी सबैको अवैध कारोबारमा जिल्लास्थित प्रहरी प्रमुखहरूको नाम मुछिएको गुनासो धेरै आइरहेको थियो’, प्रहरी स्रोतले भन्यो ‘यही कारणले कार्कीले कार्यकाल पूरा गर्न नपाएका हुन् ।’ 

प्रहरीको आफ्नो ब्याचमा यसअघि राम्रै क्षमताका अधिकृत मानिने एसपी कार्की उच्च तहमा पुगेपछि बद्नामीको बात खेप्न बाध्य भएका छन् । यसले उनको करिअरमा धक्का लाग्ने अनुमान अन्य प्रहरी अधिकारीको छ ।

View : 152

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved