विराटनगर । नेपाल प्रिमियर लिगको महत्वपूर्ण टिम विराटनगर किङ्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ ।
प्रतियोगितामा कोशी प्रदेशका पाँच जिल्लाहरू — झापा, मोरङ, सुनसरी, उदयपुर र इलामका अन्डर–२३ टोलीहरू सहभागी हुने जनाइएको छ । प्रतियोगिता टी–ट्वेन्टी फर्म्याटमा खेलाइने छ ।
प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म झापास्थित मेची बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुने विराटनगर किङ्सले जनाएको छ । प्रतियोगितामा प्रत्येक दिन दुईवटा खेल हुने तालिका बनेको विराटनगर किङ्सका निर्देशक दिपेन्द्र चौधरीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामार्फत कोशी प्रदेशमा रहेका युवा खेलाडीहरूलाई आफ्नो क्रिकेट प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने र व्यावसायिक खेल जीवनतर्फको यात्रा प्रारम्भ गर्न मञ्च तयार गर्न लागिएको हो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विराटनगर किङ्सको डेभलपमेन्ट स्क्वाडमा चयन गरिनेछ । डेभलपमेन्ट स्क्वाडमा चयन भएका खेलाडीहरूले किङ्स टिमसँगै अभ्यास, कौशल विकास तथा व्यावसायिक प्रशिक्षणको महत्वपूर्ण अवसर प्राप्त गर्नेछन् ।
त्यसरी चयन भएका खेलाडीहरूमध्ये उत्कृष्ट खेलाडीले आगामी नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सको मुख्य स्क्वाडमा रहेर खेल्ने अवसर पाउनेछन् ।
नेपालको राष्ट्रिय टिमले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रतियोगिताहरूमा हासिल गरेको सफलतासँगै देशभर क्रिकेटप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ ।
विश्वका प्रतिष्ठित फ्रेन्चाइज लिगहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका राष्ट्रिय खेलाडी सन्दीप लामिछाने मार्की खेलाडी रहेका छन् ।
विराटनगर किङ्सले सधैं युवा प्रतिभाको विकास र खेल भावनाको प्रवर्द्धनमा अग्रसर रहने प्रतिबद्धता जनाएको छ ।
एनपीएलको फ्रेन्चाइज टोली विराटनगर किङ्स स्थानीय प्रतिभाको प्रस्फुटन र प्रदर्शन गर्दै क्रिकेट खेलको भावना प्रवर्द्धन गर्ने र प्रशंसक तथा समुदायसँग जोडिएको टोली हो ।
View : 344
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved