Biratnagar, Morang, Nepal
११ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

नगरसभालाई लिएर इटहरीको विवाद उत्कर्षमा

उद्घोष सम्वाददाता
१२ पुष २०८०, बिहिवार

इटहरी, १२ पुस । नगरसभा बैठक स्थगित गरेको बिषयलाई लिएर इटहरी उपमहानगरपालिकाका नगरप्रमुख र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिबिच उत्पन्न विवाद उत्कर्षमा पुगेको छ ।

बुधबार बोलाइएको चौधौं नगरसभा बैठक तयारी नपुगेको भन्दै सहमतीमै स्थगित गरिए पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले एकलौटी ढंगले वैठक स्थगित गरेको भन्दै भ्रम फैल्याएको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।

बिहीबार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख पौडेलले कार्यपालिकामा बहुमत सदस्य रहेको एमालेबाट निर्वाचित जनप्रतिनिधिको अनुचित दबाबले काम गर्न नसकिएको आरोप लगाए । राजस्व, शुल्क तथा जरिवाना घटाउनुपर्ने माग राख्दै आएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बुधवारको नगरसभामा सो विषयमा छलफल हुने कार्यतालिका थियो । तर पार्टीको ह्वीपमा उनीहरुले नगरसभा बैठक अवरुद्ध गर्न खोजेको नगरप्रमुख पौडेलले आरोप लगाए ।

कार्यपालिका र नगरसभामा पर्याप्त छलफल गरेर कर तथा राजश्व बढाउने प्रस्ताव पारित गरिएको बिषयलाई लिएर एमालेले बारम्बार दोहोरो चरित्र देखाउदै बिरोध गर्नुको कुनै औचित्य नरहेको नगरप्रमुख पौडेलको भनाइ छ ।

कर घटाउने विषयमा आफू सकारात्मक रहेको भए पनि नगरसभा बैठकमा पटक–पटक विवाद झिकेर मिति सार्न आग्रह एमालेकै जनप्रतिनिधिहरूले गरेको तर सामाजिक सञ्जालमा भने मेयरलाई दोषी देखाउने गरेको उनले बताए ।

कर समायोजन तथा पुनरावलोकन समितिका संयोजकले नै प्रतिवेदन च्यातेर करको दर हेरफेर गरेको समेत नगरप्रमुख पौडेलले आरोप लगाए । इटहरीमा बढेको करको विषयमा छानबिन गर्न गठित कर समायोजन तथा पुनरावलोकन समितिका संयोजक तथा इटहरी–३ का वडाध्यक्ष उमेश सुवेदीले समितिले तयार पारेको प्रतिवेदनको चार पन्ना च्यातेर पुनः संशोधन गरेको पौडेलको आरोप छ ।

समितिले तयार पारेको प्रतिवेदनमा निजी विद्यालयलाई लगाइएको करको दर बढी भएको भन्दै पार्टी भित्रबाट चर्को आलोचना भएपछि आफैले च्यातेर पुनः सच्याउदै संशोधन गरेको पौडेलले बताए ।

सहमति र सहकार्यका लागि सदैव लचिलो बन्दै जाँदा एमालेका जनप्रतिनिधिहरूमा दुईतिहाइ बहुमतको दम्भ देखिन थालेको र जसरी भए पनि आफ्नो कार्यकाललाई असक्षम र असफल बनाउन भित्र एकथरी र बाहिर अर्कोथरी कुरा गरेको उनको आरोप छ ।

पार्टीबाट चर्को दबाब आएकोले कार्यपालिका बैठक सार्ने सहमति एमालेबाटै भएको तर मेयरले बैठक स्थगित गर्‍यो भनेर बाहिर प्रेस विज्ञप्ति निकाल्दा एमालेका जनप्रतिनिधिहरूका राजनीतिक कुण्ठा बोलेको मेयर पौडेलले आरोप लगाए । 

इटहरी उपमहानगरको कार्यपालिका बैठकमा एमालेको उपस्थिति नै नभएको जनाउँदै पौडेलले हरेक कुरामा एमालेका जनप्रतिनिधिले भागबण्डा खोज्ने गरेको आरोप लगाए ।

उनले भने –‘उहाँहरु बैठकमा उपस्थिति हुँदा पार्टीको चिट बोकेर आउनु हुन्छ, इटहरीलाई समृद्ध शहर बनाउनेतर्फ कुनै ध्यान नै छैन खाली पार्टीकै एजेन्डा अनि विषय बस्तु ल्याउनुहुन्छ ।’ नगरप्रमुख पौडेलले समझदारी र सहकार्य गरेर मात्र आफू अघि बढ्ने तर कुनै पार्टीको गोटी बनेर काम गर्न नसक्ने बताए ।

इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुखसहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुखसहित ६ जना नेपाली कांग्रेसबाट निर्वाचित सदस्य छन् । यस्तै १०४ जना नगरसभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित  छन् भने २१ जना मात्र नेपाली कांग्रेसबाट निर्वाचित सदस्य छन् ।

View : 272

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved