हाम्रो स्थानीय सरकार :
कोशी प्रदेशको राजधानी विराटनगरबाट २५ किलोमिटर पूर्वमा रंगेली पर्दछ । मोरङ जिल्लाको पुरानो सदरमुकाम रंगेली थियो । वि स १९७१ मा रंगेलीबाट सदरमुकाम विराटनगर स्थानान्तर गरिएको हो ।
तत्कालीन अवस्थामा रंगेलीमा हुलाक कार्यलय, भन्सार कार्यालय, कारागार तथा थुप्रै सरकारी कार्यालयहरू थिए । तत्कालीन अवस्थामा विराटनगरका केही गण्यमान्य तथा हुने खाने वर्गले रंगेलीबाट सदरमुकाम गोग्राह बजार (विराटनगर) सार्नलाई सफल भएका हुन् ।
कोशी प्रदेश अन्तर्गत १३७ स्थानीय तहमध्ये सबै क्षेत्रको विकासको नजरले रंगेली नगरपालिकालाई उत्कृष्ट स्थानीय तहमा परिभाषित गरिन सकिन्छ । राजनीति नेतृत्वले इच्छाशक्ति देखाएमा विकास चाँडोभन्दा चाँडो हुँदोरहेछ । यसको प्रमाण रंगेली नगरपालिकाले देखाइदिएको छ ।
२०७१ वैशाख २५ गते रंगेली नगरपालिका घोषणा गरिएको हो । साविक रंगेली, आमगाछी, बबियाबिर्ता र दर्वेशा गाउँ विकास समितिलाई एकीकृत गरी रंगेली नगरपालिका घोषणा गरिएको हो ।
केही गाउँ विकास समितिका केही वडा मात्र र केही गाउँ विकास समिति सबै वडा रंगेलीमा समायोजन गरिएको थियो । रंगेलीको पूर्व सुनबर्सी नगरपालिका, पश्चिममा धनपाल, कटहरी र ग्रामथान गाउँपालिका, उत्तरमा बेलवारी तथा कानेपोखरी गाउँपालिका र दक्षिणमा भारतीय सीमा छ । क्षेत्रफलको आधारले रंगेलीको कुल क्षेत्रफल १११.७८ वर्ग किलोमिटर छ । समुद्र सतहबाट रंगेलीको उचाइ ११६ देखि १६४ मिटर उचाइमा छ ।
विकासको दृष्टिकोणले रंगेलीका सबै वडाहरू बराबर विकास गरिएको अवस्था छ । नौ वटा वडा रहेको रंगेली नगरपालिका अन्तर्गत सबै सामुदायिक विद्यालयमा जानको लागि पक्कि सडकको बाटो तयार भइसकेको छ ।
सबै वडाहरूमा बिजुलीबत्ती तथा खम्बामा चीम (बल्ब) छ । विकासका पूर्वाधारहरूमा यातायात, विद्युत, सञ्चार सबै वडाहरूमा उपलब्ध छ ।
शिक्षा क्षेत्रको विकासको लागि रंगेली नगरपालिकाले प्राथमिकतामा राखेको छ । नमुना विद्यालयको रूपमा पब्लिक माध्यमिक विद्यालय रंगेली–६ लाई विकास गरेको हो । यस विद्यालयमा प्राविधिक तर्फको सिभिल इन्जिनियरिङ डिप्लोमा लेभलको कक्षाहरू सञ्चालित छन् ।
सीटीभीटीबाट ४८ वटा कोटा सिभिल इन्जिनियरिङको लागि नमुना विद्यालय पब्लिक माविले प्राप्त गरेको हो । डिप्लोमा सिभिल इन्जिनियरिङ पढ्नको लागि रंगेली नगरपालिकाले पूर्ण छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । माध्यमिक शिक्षा परीक्षामा रंगेली नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूको नतिजा उत्कृष्ट नै छ ।
शिक्षा क्षेत्रको विकासको लागि रंगेली नगरपालिकाका मेयर दिलीपकुमार अग्रवाल उपमेयर भूमा पराजुली कार्यकारी अधिकृत प्रदीप साह, शिक्षा अधिकृत लीला ओझा लगायतले अहोरात्र खटेर विद्यार्थीको भविष्य उज्ज्वलको लागि गुणस्तरीय शिक्षाका लागि बारम्बार विद्यालय अनुगमन विद्यालयलाई सुझाव सल्लाह तथा निर्देशन दिने कार्यले गुणस्तरीय शिक्षामा रंगेलीको नाम अगाडि नै छ ।
प्रत्येक वर्ष रंगेलीमा कार्यरत सामुदायिक विद्यालयका तिनै तहका शिक्षकलाई तालिम पुनर्ताजकी अभिमुखीकरण कार्यक्रम पालिका आफैले आयोजना गर्ने गरेको छ । धार्मिक दृष्टिकोणले रंगेली प्रख्यात नै छ ।
रंगेलीको मुख्य चोकमा रहेको काली मन्दिरको इतिहास निकै पुरानो हो । शक्तिपीठका रूपमा रहेको संसारीमाइस्थान, दुर्गा मन्दिर लगायतका धार्मिक स्थलहरू छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार रंगेलीको कुल जनसङ्ख्या ५७ हजार चार सय ९४ रहेको छ भने पुरुषको संख्या २७ हजार ९७४ तथा महिलाको संख्या २९ हजार ५२० रहेको छ ।
कुल घरधुरी १३ हजार २०६ हो भने जनघनत्व ५१४ प्रति वर्ग किलोमिटर छ ।
रंगेली नगरपालिकाभित्र मधेसी, मुसलमान, ब्राह्मण क्षेत्री, मारवाडी समुदायका साथै थारू, राजवंशी लगायतका आदिवासी जनजाति समुदायको बसोबास देखिन्छ ।
रंगेलीको विकासको लागि अहोरात्र खटिने नगरपालिकाका प्रमुख, उपप्रमुख कार्यकारी अधिकृत तथा जनप्रतिनिधिहरुको एकता सहकार्य तथा लगनशीलता नै हो । यसको प्रमाण जिल्ला अस्पताल रंगेलीको विकास र सेवा सुविधालाई लिन सकिन्छ ।
छोटो समयमै रंगेली नगरपालिकाले रंगेली अस्पतालको विकासका लागि तथा रंगेलीबासीहरूका लागि उपचारमा कुनै पनि असुविधा नहोस् भन्ने उद्देश्यले चौबीसै घण्टा सेवा प्राप्त हुन्छ ।
कोशी प्रदेशका अन्य स्थानीय तहहरूले पनि विकास विषयमा रंगेली नगरपालिकाबाट शिक्षा लिनु आवश्यक छ ।
View : 358
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved