Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

बीपी प्रतिष्ठानका कामु उपकुलपति कार्कीको कार्यकक्षमा हर्क साम्पाङले ठोके ताला

उद्घोष सम्वाददाता
१ माघ २०८०, सोमवार

विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रल्हाद कार्कीको कार्यकक्षमा त्यहाँका मेयर हर्क साम्पाङले सोमबार तालाबन्दी गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर साम्पाङ आफैं पुगेर कामु उपकुलपति कार्कीको कार्यकक्षको ढोकामा तालाबन्दी गरेका हुन् । 

प्रतिष्ठानमा चिकित्सक, शिक्षक र कर्मचारीको तहगत पदोन्नतीका बिषयमा प्रक्रियागत विवाद बढेर आन्दोलन समेत भएपछि उपकुलपति कार्कीले पुस २९ गतेको मिति राखेर प्रतिष्ठानका रजिष्ट्रार प्राडा सूर्यप्रसाद संग्रौला र ११ जना विभागीय प्रमुखहरुलाई जिम्मेवारीबाट हटाएका थिए । 

त्यसलाई आन्दोलनरत चिकित्सक, शिक्षक र कर्मचारीहरुले विषयान्तर गराउन खोजेको आरोप लगाइरहेका छन् । उनीहरुले प्रतिष्ठान परिसरमा कामु उपकुलपति कार्की प्रवेश निषेध क्षेत्र भन्दै नाराबाजीसमेत गरेका छन् ।

बीपी प्रतिष्ठान ऐन २०४९ ले उपकुलपतिलाई विभागीय प्रमुखहरुलाई हटाउनेसम्मको अधिकार दिएका कारण प्राडा कार्कीले उनीहरुलाई एकल अधिकारको प्रयोग गर्दै कारवाही गरेका थिए । 

त्यसपछि चर्किएको विवाद र आन्दोलनले प्रतिष्ठानको उपचार सेवासमेत प्रभावित हुने गरी अशान्त बनेको छ ।

मेयर साम्पाङले कामु उपकुलपति कार्कीले तत्काल राजिनामा नदिए घिसारेर निकाल्नेसम्मको चेतावनी दिंदै कार्यकक्षमा ताला लगाइदिएका हुन् । 

उनले आफू बाहेक कसैले पनि ताला खोल्ने प्रयास नगर्ने उनले दाबी गरेका छन् । मोटरसाइकलमा चढेर एक्लै प्रतिष्ठान पुगेका साम्पाङले कार्कीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि प्रतिष्ठानभित्रको विवादसमेत उत्कर्षमा पुगेको जनाइएको छ ।

पटक–पटक विवादित कार्यशैलीमा संलग्न रहेका मेयर साम्पाङले अधिकार क्षेत्रविपरित कामु उपकुलपति कार्कीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । किनभने उनी आफैं प्रतिष्ठानको पदेन सदस्य छन् ।

‘प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरुले खोल्ने आँट नगरुन्, आवश्यक परेका बेला म आफैं आएर खोल्छु’ तालाबन्दीपछि मेयर साम्पाङले सामाजिक सञ्जालमा समेत लेखेका छन्, ‘वीपी अस्पतालको भीसी नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजिनामा दिनु, नत्र खोजेर घिसार्दै निकाल्न नपरोस्, नाम नबिर्सनु है !’

स्थापनाको तीन दशक पूरा हुन लागेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र आर्थिक अनियमितताका घटनाहरु पटक–पटक बाहिरिन्छन् । चर्को राजनीतिक हस्तक्षेप, चिकित्सक, शिक्षक र कर्मचारीहरुबीच देखिने राजनीतिक पक्षधरताले प्रतिष्ठानभित्र स्वार्थ समूहहरुको पहुँच सहज भएको सरोकारवालाहरुले बताउँदै आएका छन् ।

यसै क्रममा युटुबर र सामाजिक सञ्जालमार्फत आफ्नो लोकप्रियता प्रदर्शनमा उत्रिएका धरानका मेयर साम्पाङले गरेको तालाबन्दीले प्रतिष्ठानभित्रको व्यवस्थापकीय कलह समाधान हुनेतिर भन्दा थप चर्किने प्रतिष्ठान बचाउमा लागेका अभियन्ताहरुले बताएका छन् ।

प्रतिष्ठानमा रहेका तीन दर्जन विभागमा कार्यरत चिकित्सक र नर्ससहित २ हजार ३ सय कर्मचारी रहेका छन् । मुलुककै एक मात्र ‘ननप्राक्टिसिङ इन्स्टिच्यूट’ का रुपमा चिनिएको प्रतिष्ठानमा कार्यरत  चिकित्सकहरुले बाहिर शुल्क लिएर विरामी हेर्न नपाउने व्यवस्था रहेको छ । तर प्रतिष्ठानमा एक्सरे अल्ट्रासाउण्ड, सिटी स्क्यान मेसिनहरु अहिले पनि पर्याप्त मात्रामा सञ्चालन हुन सकेका छैनन् ।

स्वास्थ्य सेवा प्रवाहका लागि अत्यावश्यक भइसकेको एमआरआई गर्न त्यहाँ भर्ना भएका विरामीहरुले विराटनगर नै पुग्नुपर्ने बाध्यता पनि अहिलेसम्मै कायम रहेको छ । 

View : 326

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved