विराटनगर : ठूलो समूहमा आउने हात्तीको बथानले मोरङको बेलबारी–१० शान्ति टोल र भाउन्नेटोललगायत विभिन्न ठाउँमा आतंक मच्चाइरहेको स्थानीयवासीले बताएका छन् ।
कृषकहरुले लगाएको मकै, केरा, तोरीलगायतका विभिन्न बालीनाली सखाप पारेको छ । हात्तीको आतंकले बेलकारीका सर्वसाधारण यतिवेला त्रासमा दिनरात बिताइरहेका छन् ।
गएको मंसिर १७ गते बेलबारी छिरेको हात्तीको बथान अहिले त्यसै क्षेत्रमा रहेको स्थानीयवासी बताउँछन् । दिनभर जंगलमै बस्ने हात्तीको बथान साँझ परेपछि बस्ती तथा खेतवारीमा आउने गरेको छ ।
हात्तीको आतंकले बेलबारी–१० शान्ति टोलका अधिकांश मानिसहरु खाद्यान्नका सामग्री सुरक्षित स्थानतर्फ ओसार्न थालेका छन् । हात्तीको हुलले मकै, केरा, तोरीलगायतका विभिन्न बालीनाली खाने गरेको छ । हात्तीको हुलले घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पनि खाने र त्यसपछि हाती झनै आक्रामक हुने गरेका बेलवारी–१० का हात्ती पीडित गुणप्रसाद डोटेलको भनाई छ ।
जंगल क्षेत्रमा हात्तीको आवतजावत बाक्लो भएकाले दिउँसो एक्लै हिड्डुल गर्नसमेत समस्या भएको स्थानीयको भनाइ छ । राति गाउँमा बस्नसमेत समस्या भएको उनीहरुले दुःखेसो व्यक्त गरे । दिनभरी हात्तीको बथान बस्ती नजिकै जंगलमा बस्ने गरेको र साँझ पर्न साथ गाउँ पसेर बाली नाली नष्ट गर्ने र घर भत्काउने र भण्डार गरेर राखेको अन्नसमेत खाने गरेको अर्का पीडित कृष्ण हुमागार्इंको भनाई छ ।
बेलाबारी–१० मा कृषकहरुले मकै, केरा, तोरीलगायतका विभिन्न बालीनाली ठूलो क्षेत्रफलमा लगाएका छन् । तर हात्तीको आतंकले एक हप्तामा ४० प्रतिशत भन्दा बढी बाली नष्ट भइसकेको बताइएको छ ।
बेलबारी–१० मा २०–२२ वटाको संख्यामा रहेको हात्तीको बथानलाई स्थानीयहरुले प्रत्येक रात जाग्राम बसेर सुरक्षाकर्मीको सहकार्यमा हात्तीलाई जंगलतर्फ धपाउँदै आइरहेका छन् ।
हात्ती आतंकले एक हप्ता अगाडि बेलबारीमा लेटाङ–३ घर भएका ५३ वर्षीय कमल माझीको मृत्यु भएको थियो भने कोशी प्रदेशको झापा, मोरङ र सुनसरीको चुरे फेदीमा यतिबेला जङ्गली हात्तीले आतंक मच्चाएको छ । विगत केहिदिन यता मात्रै हात्तीको आत्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जना गरी ४ जना सर्वसाधरणको मृत्यु भइसकेको छ ।
नेपाल किसान महासंघ मोरङको टोलीले शुक्रबार हात्ती पीडित क्षेत्रको स्थलगत अवलोकन गरी पीडितहरुसँग हात्ती नियन्त्रणबारे छलफल गरेको थियो ।
नेपाल किसान महासंघ मोरङका अध्यक्ष बसन्त हुमागाँईले कृषकहरुले लाखौं खर्च गरेर लगाएको बालि हात्तीले नष्ट गरेको जनाउँदै क्षतिपूर्तिका लागि पहल गर्ने बताए ।
उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकासंग हात्ती नियन्त्रण र पीडितहरुका लागि क्षतिपूर्ति उपलब्ध गराउन चाँडै नै सरकारी निकायको ध्यानाकर्षण गराउने बताए ।
View : 151
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved