विराटनगर, २८ मंसिर : संकल्प यात्राका क्रममा मंगलबारदेखि कोशी प्रदेश प्रवेश गरेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि बिहीबार एक व्यक्तिले आक्रमण गरेका छन् । भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा धनकुटाको लेगुवाघाटमा ओलीलाई स्वागत गर्न लाइनमा बसेका ती व्यक्तिले उनको नजिकैबाट आक्रमण गरेका हुन् ।
आक्रमणमा संलग्न व्यक्ति धनकुटाको महालक्ष्मी नगरपालिका–५ का महेश राई रहेको जनाइएको छ । उनले मादक पदार्थ समेत सेवन गरेको प्रहरीले जनाएको छ ।
ओलीलाई स्वागत गर्ने लाइनमा बसेका ती व्यक्तिले ओलीमाथि मुक्का प्रहार गरेका थिए । ओलीको अगाडि–अगाडि रहेका एमाले केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी कार्यकर्ता र सर्वसाधारणलाई हातमा फुलमाला लिएर लाइनमा बस्न आग्रह गर्दागर्दै ती व्यक्तिले सुरक्षा धेराभित्रै ओलीमाथि आक्रमण गरेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा स्पष्ट देखिन्छ ।
पार्टी अध्यक्ष ओलीमाथि आक्रमण भए लगत्तै उनलाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएको जनाइएको छ ।
तर एमालेले भने ओलीमाथि आक्रमण नै नभएको दाबी गरेको छ । बरु मादक पदार्थ सेवन गरेका व्यक्तिले ओलीलाई अंगालो हाल्न खोज्ने क्रममा धकेलिएर घटना भएको एमालेका नेताहरुले बताएका छन् ।
एमाले महासचिव शंकर पोखरेलले उक्त घटना ‘एउटा जड्याहाको अस्वभाविक हर्कत’ भएको दाबी गरे ।
उनले सम्बृद्धिका लागि संकल्प यात्राको अभूतपूर्व सफलता र त्यसले दिएको सन्देशबाट ध्यान अन्यत्र मोड्नका लागि बहाना बनेको बताए । तर भिडियो हेर्दा भने महासचिव पोखरेलले दाबी गरेजस्तो देखिंदैन ।
अध्यक्ष ओलीमाथि सुरक्षाकर्मी र एमालेको स्वयंसेवकहरुकै सामुन्नेमा आक्रमण भएको स्पष्ट देखिएको छ ।
View : 130
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved