Biratnagar, Morang, Nepal
१० वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

केन्द्रीय सदस्य कमल रिमालको नेतृत्वमा महासंघले पठायो धरानमा मिसन टोली

उद्‌घोष सम्वाददाता
९ पुष २०८१, मङ्गलवार

विराटनगर । धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकबाट निरन्तर धम्की खेपिरहेका छन् धरानका पत्रकार गोपाल दाहाल । उनलाई यसरी दिइएको धम्कीका विषयमा स्थलगत अध्ययन गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले मिसन टोली परिचालन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिलाई मंगलबार पद हस्तान्तरणपछि बसेको पहिलो बैठकले समाचारको विषयलाई लिएर पत्रकार दाहालमाथि ज्यान लिनेसम्मको धम्की आएकोबारे बुझ्न टोली खटाउने निर्णय गरेको हो ।

महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा ‘समाचारको विषयलाई लिएर पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्की आइरहेको सन्दर्भमा स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्नेगरी महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा अर्का केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का र महासंघ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेको मिडिया मिसन खटाउने’ निर्णय भएको छ ।

खोज पत्रकारिता केन्द्र (खोपके) मा पत्रकार गोपाल दाहालले ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरानु’ शीर्षकमा समाचार लेखेका थिए। त्यसपछि मेयरसहित उनका समर्थकहरूले पत्रकार दाहाललाई धम्की दिएको भन्दै उनले सुरक्षाको मागसमेत गरेका थिए ।

साथै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट व्यहोरिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिबद्धता पनि जनाएको छ ।

केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुको साथै खबरदारी गर्ने पनि महासंघको निर्णय छ ।

View : 324

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved