विराटनगर । जिल्ला अदालत मोरङबाट हाजिरी जमानीमा छुट्ने आदेश पाएका ‘गुण्डानाइके’ अभिषेक गिरीको एउटा भिडियो अहिले भाइरल छ । उनलाई प्रहरीले झ्याइँकुटी पारेर विराटनगर विमानस्थलमा भित्र्याउँदै थियो । उनी भने आफूलाई प्रहरीले मार्न लागेको बताउँदै ‘मानव अधिकार हनन भएको’ भन्दै कराइरहेका देखिन्छन् ।
यो सोमबार साँझको दृश्य हो । अदालतले थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको केही समयमै उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको थियो ।
सोमबार राति नै सीआईबीको टोलीले काठमाडौं लैजाने क्रममा गिरीलाई विमानस्थलमा प्रवेश गर्नुअघि प्रहरीको गाडीबाट ओलिएको थियो । प्रहरीका अनुसार उनी ओर्लिएर हिंड्न मानेनन् । हिंड्न नमानेपछि प्रहरीले झ्याँईकुटी पार्दै उनलाई विमानस्थलभित्र लगिएको थियो ।
मोरङ प्रहरीको अनुसन्धान नसकिदै काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर बसेको सीआईबीले गिरीलाई अदालत परिसरबाटै नियन्त्रणमा लिएपछि धेरैको चासो बढेको छ ।
अदालतबाट छुट्ने बित्तिकै गिरीलाई सीआईबीले किन समात्यो भन्ने जिज्ञासा धेरैको छ ।
यसबारे विज्ञप्ति निकालेर सीआईबीले जानकारी दिएको छ । सीआईबीका अनुसार गिरीलाई यसपटक कारागारभित्रको असुली मुद्दामा नभई काठमाडौंमा दर्ता भएको ठगी र आपराधिक विश्वासघात सम्बन्धी छुट्टै मुद्दामा पक्राउ गरिएको हो ।
मोरङ जिल्ला अदालतले थुनामुक्त गरी बाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिए लगत्तै पक्राउ परेका गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ठगी तथा आपराधिक विश्वासघात कसुरमा काठमाडौं पु¥याएर अनुसन्धान अघि बढाएको छ ।
हिलो र धुलोको केन्द्र बनेको हुलाकी सडकको कटहरी खण्ड निर्माणको ठेक्का पाएका हेटौंडाको श्रेष्ठ कन्ट्रक्सन नै कब्जामा लिएर ठुलो आर्थिक हानी नोक्सानी पुर्याएको र चलअचल सम्पति समेत कब्जामा राखेको भन्दै ठेकेदार शुभाष श्रेष्ठले सिआईबी गुहारेपछि गिरी पक्राउ परेका हुन् ।
गिरीले विभिन्न व्यक्तिसँग आफ्नो पहुँच र चिनजान रहेको भन्दै विभिन्न आयोजनाको ठेक्का दिलाइदिने विश्वास दिलाएका आफ्नो कम्पनी आरसी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिमार्फत हुलाकी सडक बनाउने गरी निर्माण व्यवसायी श्रेष्ठसँग सम्झौता गरेको पाइएको छ । तर उनले सडक निर्माण नै नगरी अलपत्र छाड्दा अहिलेसम्म यो सडक खण्ड गिरीले श्रेष्ठ कन्सट्रक्सनका मेसिन उपकरण नै कवाडीमा बिक्री गरिदिएको, घरजग्गा बलपूर्वक आफ्नो नाममा पारेको सिआईबीले जनाएको छ ।
निर्माण व्यवसायी श्रेष्ठको जाहेरीका आधारमा गिरीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएको थियो ।
गिरीले आफ्नो पुरानो आपराधिक प्रभाव र पहुँचको धाक देखाउँदै श्रेष्ठलाई आयोजनाहरूको ठेक्का पारिदिने विश्वास दिलाएका थिए । त्यसपछि उक्त ठेक्काको काम आफ्नो कम्पनी आरसी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिमार्फत नियमानुसार सम्पन्न गरिदिने आश्वासन दिएर ठूलो रकम उठाएका थिए ।
तर, गिरीले आश्वासन बमोजिम काम नगरेपछि सम्झौता रद्द भई जाहेरवाला श्रेष्ठलाई ठूलो आर्थिक क्षति पुग्न गएको सीआईबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सीआईबीले जारी गरेको विज्ञप्ति अनुसार गिरीको बदमासी यतिमा मात्र सीमित थिएन ।
उनले जाहेरवाला श्रेष्ठको निर्माण कार्यमा प्रयोग हुने सवारी साधनहरू अवैध रूपमा आफ्नो कब्जामा लिएका थिए ।
कब्जामा लिएका मध्ये केही सवारी साधनहरू त सवारी धनी श्रेष्ठलाई पत्तै नदिई कवाडीमा समेत बिक्री गरेर रकम हिनामिना गरेको पाइएको छ ।
यति मात्र नभएर गिरीले आफ्नो पुराना आपराधिक छविको त्रास देखाउँदै र डर–धम्कीको आडमा श्रेष्ठलाई काठमाडौंमा रहेको घरजग्गासमेत राजीनामा पास गर्न बाध्य पारेका थिए ।
जाहेरवाला श्रेष्ठले अन्य व्यक्तिहरूबाट प्राप्त गर्नुपर्ने रकमसमेत दबाब दिएर गिरीकै नाममा चेक काट्न लगाई अवैध आर्थिक लाभ लिएको सीआईबीको विज्ञप्तिमा उल्लेख छ ।
सीआईबीले जारी गरेको आधिकारिक वक्तव्यमा प्रतिवादी गिरीले आफ्नो विभिन्न व्यक्तिहरूसँगको चिनजान र पहुँचको दुरुपयोग गरी निर्माण व्यवसायीलाई ठगी गरेको, सवारी साधन कब्जा गरी कवाडीमा बेचेको र डरत्रास देखाई काठमाडौको घरजग्गासमेत आफ्नो नाममा गराइ आर्थिक लाभ लिएको र जाहेरवालालाई हानी पु¥याएको कसूरमा थप अनुसन्धान जारी रहेको प्रष्ट पारेको छ ।
केही दिनअघि मात्रै उनलाई मोरङ कारागारमा असुली धन्दा चलाएको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । विराटनगर–८ मधुमारा घर भएका ४८ वर्षीय अभिषेक गिरी अपराध जगतमा कहलिएको नाम हो ।
विगत तीन दशकदेखि उनको नाम हत्या, अपहरण, फिरौती, ठेक्कापट्टा र गैरकानुनी असुलीसँग जोडिदै आएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखापाल अच्युतप्रसाद रेग्मीको अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष जेल सजाय काटेर उनी २०७९ चैत ५ गते मात्रै कारागारमुक्त भएका थिए ।
जेलबाट छुटेपछि गिरीले राजनीतिक संरक्षणको आड लिदै अभिषेक गिरी फाउन्डेसनमार्फत विद्यालयमा पोसाक तथा राहत बाँड्ने जस्ता सामाजिक काम गरेको नाटक गरेर आफ्नो छवि सुधार्ने र अवैध धनलाई वैध बनाउने प्रयास गरेको प्रहरीको भनाइ छ ।
बाहिर समाजसेवा र राजनीतिक शक्तिको आवरण बनाए पनि उनको भित्री अपराध सञ्जाल उत्तिकै सक्रिय रहेको प्रहरीको दाबी छ ।
गत असार १३ गते मोरङ प्रहरीले गिरीलाई विराटनगर–८ मधुमारास्थित उनकै घरबाट पक्राउ गर्दा बैंकहरूमा प्रयोग हुने पैसा गन्ने मेसिन फेला परेको थियो ।
मोरङ कारागारका ५०० भन्दा बढी कैदीबन्दीले दिनभर पसिना बगाएर बुन्ने मुढा र गलैंचाको व्यापारको लाखौं रुपैयाँ आम्दानी सिधै गिरीको व्यक्तिगत बैंक खातामा जाने गरेको भेटिएको प्रहरीले बताउँदै आएको छ ।
त्यस्तै सरकारले कैदीबन्दीका लागि पठाउने दैनिक सिदा र लुगा भत्तासमेत गिरीको गिरोहले जबर्जस्ती असुल गर्ने गरेको उजुरी प्रहरीमा परेको छ ।
View : 666
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved