विराटनगर । भन्सार छलिको सामान भित्र्याउने कार्यमा भन्सार एजेन्टकै संलग्नता पुष्टि हुँदा समेत चित्तबुझ्दो कारवाही नगरेको भन्दै भन्सार र राजश्व अनुसन्धानसँग असन्तुष्ट रहेको सशस्त्र प्रहरीले एकैदिन सवा सात लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेर भन्सारमै बुझाएको छ ।
घटना बिहीबार बिहानै पौने ८ बजेको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–१५ झोराहाटस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वाटरबाट खटिएको सशस्त्र प्रहरीको १० जनाको मोबाइल गस्ती टोलीले एउटा मिनी ट्रक नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरी बलका सहायक प्रहरी नायव उपरीक्षक मातृका पौडेलको कमाण्डमा रहेको गस्ती टोलीले भन्सार छलेर भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको प्रदेश नं. १–०२–००१ ख ८७२५ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्दा त्यहाँ अनेकौं प्रकारका कपडा फेला पारिएको जनाइएको छ ।
बरामद गरेको कपडाको मूल्य मात्रै ७ लाख १५ हजार रहेको सशस्त्र प्रहरी बल बराहबाहिनी पकलीले जनाएको छ । २३ लाख रुपैयाँ मुल्य अनुमानित गरिएको उक्त मिनी ट्रकसहित सशस्त्र प्रहरीले ३० लाख १५ हजार ३६० रुपैयाँ बराबरको मालसामान भन्सारलाई बुझाएको हो ।
सशस्त्र प्रहरी स्रोतका अनुसार मिनी ट्रकमा लेहेङ्गाको कपडा १५३ मिटर, लेहेङ्गाा २ थान¸ टावेल १८ थान, सिरकको खोल ४० मिटर, पर्दा २५ मिटर, अण्डरवेयर ४० थान, लेडिज स्वेटर २९ थान, मखमलको लेडिज ब्लाउज २१ थान बरामद गरिएको जनाइएको छ ।
त्यसैगरी, भाइरल साडी ८ थान, मिथिला साडी २५ थान, बनारसी साडी ७५ थान, लेडिज टप्स १ थान, सवरी साडी १० थान, सेण्डो गन्जी (हाफ) २९० थान, सेण्डो गन्जी (फुल) ५० थान, उनीको टाउजर १४ थान, सेतो थान कपडा २७ मिटर, थान कपडा १२० मिटर र सुटको थान कपडा ३१५ मिटर बरामद गरिएको जनाइएको छ ।
बरामद लत्ता कपडासहितको मिनी ट्रकलाई सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा आवश्यक कारवाहीको लागी बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघिदेखि नै भन्सार कार्यालयबाट हुने जाँचपास प्रक्रिया र राजस्व अनुसन्धान कार्यालय इटहरीबाट हुने मुल्याङ्कनप्रति सशस्त्र प्रहरीले असन्तुष्टि जनाइसकेको छ । उसले राजश्व चुहावट नियन्त्रण र अनुसन्धानका क्रममा हुने गरेको काम कारवाहीप्रति स्पष्ट रुपमा असन्तुष्टि मात्रै व्यक्त गरेन, माथिल्लो निकायमा उजुरी नै पठाएको थियो ।
पछिल्लो समय भन्सार नाकाबाट भन्सार छलीका घटनामा आफ्नो पूरै जनशक्ति परिचालन गरेर सरसामान बरामद गरी राजश्व अनुसन्धानका लागि पठाउँदा न्युन धरौटी कायम गर्ने गरिएको सशस्त्रको दाबी छ । जसको परिणाम पूर्वक्षेत्रबाट हुने चोरी तस्करी र राजश्व चुहावट नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेर माथिल्लो निकायमा उजुरी गर्नुपरेको बताउँदै आएको छ ।
सशस्त्रले भन्सार र राजश्व अनुसन्धान प्रशासनमा जोडिएका केही कर्मचारीले नै मिलेमतोमा काम गर्ने गरेको निश्कर्ष निकालिसकेको छ ।
त्यसैको परिणाम, सशस्त्र प्रहरी बल बराहबाहिनी पकलीका बाहिनीपति प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ कुमार न्यौपानेले यस्ता गतिविधि नरोकिए भन्सार नाकामा खटिएको सशस्त्र प्रहरीले आफ्नो मनोबलका साथ कामै गर्न नसकिने चेतावनी दिएका थिए ।
View : 333
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved