Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मोरङ प्रशासनले जारी गर्‍यो निर्वाचन लक्षित चार वटा सूचना

उद्‌घोष संवाददाता
१५ फागुन २०८२, शुक्रवार

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै बिहीबार एकै दिन चार वटा सूचना जारी गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले फागुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको शान्ति सुरक्षालाई मध्यनजर गर्दै चार वटा सूचना जारी गरेको हुन् । 

उनले जारी गरेको सूचनामा ७२ घण्टा सीमा नाका बन्द गर्ने, होली र रमजान घरभित्रै मनाउन र निर्वाचनको दिन सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाउने लगायत छन् ।

जारी सूचनाअनुसार, निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रतिनिधि सभा सदस्य एकीकृत सुरक्षा योजना, २०८२ तथा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिकाबमोजिम निर्वाचनभन्दा ७२ घण्टा पूर्व सीमा नाका बन्द गर्नुपर्ने प्रावधानअनुसार मोरङस्थित नेपाल–भारत सीमा नाका बन्द गरिने भएको छ ।

कार्यालयका अनुसार फागुन १८ गते राति १२ः०० बजेदेखि २१ गते राति १२ः०० बजेसम्म आपतकालीन सेवा बाहेक सबै प्रकारका आवतजावत बन्द रहनेछ । यस अवधिमा अत्यावश्यक सेवा बाहेक सीमा पार आवागमन गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ ।

मौन अवधिमा होली घरभित्रै मनाउन आग्रह

यस वर्ष पहाडी क्षेत्रमा फागुन १८ गते र तराई क्षेत्रमा १९ गते मनाइने होली पर्व निर्वाचनको मौन अवधिसँग जुधेकाले प्रशासनले पर्व सभ्य र सीमित रूपमा मनाउन आग्रह गरेको छ ।

जिल्लावासीलाई आफ्नै घरपरिसरभित्र परिवारजनसँग मात्र होली मनाउन अनुरोध गरिएको छ । 

सार्वजनिक स्थलमा होली नमनाउन, अर्केस्टा, डिजे तथा म्युजिक नबजाउन, सामूहिक भोज, सांस्कृतिक कार्यक्रम वा प्रतियोगिता नगर्न तथा निर्वाचन आचारसंहिता विपरीत कुनै पनि गतिविधि नगर्न प्रशासनले चेतावनी दिएको छ ।

रमजानका तीन दिन पनि घरमै सीमित हुन अनुरोध

यही बेला इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानअन्तर्गत पर्ने फागुन १९, २० र २१ गते पनि निर्वाचनको मौन अवधि तथा मतदान दिन सँगै परेकाले विशेष सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

ती दिनहरूमा घरबाहिर वा मस्जिदमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम वा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न अनुरोध गरिएको छ । 

मतदानका दिन सवारी सञ्चालनमा कडाइ

निर्वाचनको दिन शान्ति सुरक्षा कायम राख्न सवारी साधन सञ्चालनमा पनि प्रतिबन्ध लगाइएको छ । फागुन २० गते राति १२ः०० बजेदेखि २१ गते मतदान सम्पन्न नभएसम्म एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार

सेवा, सुरक्षा निकाय, विद्युत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार मर्मत, कूटनीतिक नियोगका सवारी तथा निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारी बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने जनाइएको छ ।

सूचनाको उल्लङ्घन गरी सवारी सञ्चालन गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनामा निर्वाचनको संवेदनशीलता र शान्ति सुरक्षालाई प्राथमिकतामा राखी यी निर्णयहरू गरिएको उल्लेख गर्दै यसबाट पर्न सक्ने असुविधाप्रति क्षमायाचना गरिएको छ ।

View : 109

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved