कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ।
विराटनगर । शुक्रबार नेकपा माओवादी केन्द्रले सरकार छाडेसँगै कोशी प्रदेशमा नेकपा एमाले र नेपाली काङ्ग्रेसबीचको केन्द्रीय सत्ता गठबन्धन कार्यन्वयनको बाटो खुलेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की शनिबार नै काङ्ग्रेससँग छलफल गर्न काठमाडौँ जान लागेका छन् । काङ्ग्रेसका कोशी प्रदेशका अधिकांश प्रदेश सांसदहरू काठमाडौँ केन्द्रित छन् । उनीहरूले दलको बैठक समेत काठमाडौंमै गरिसकेका छन् ।
माओवादीले कोशी सरकार नछाडेका कारण काङ्ग्रेस र एमालेबीच सत्ता समीकरणका लागि औपचारिक संवाद सुरु हुन सकेको थिएन । सरकारबाट माओवादी हटेपछि काङ्ग्रेस–एमालेबीच सहभागिताको मोडल र शर्तहरूका बारेमा संवाद सुरु हुन लागेको हो ।
त्यसैका लागि मुख्यमन्त्री कार्की शनिबार अपरान्ह काठमाडौँ उड्दैछन् । कोशी प्रदेशमा मुख्यमन्त्री समेत आधा कार्यकालका लागि पाउनु पर्ने काङ्ग्रेसले शर्त अघि सारेको छ ।
एमाले–कांग्रेसबीचको सात बुँदे सहमतिमा भने संघीय सरकार गठनको मोडलबारे मात्रै उल्लेख रहेको जनाइएको छ ।
एमालेसँगको सत्ता सहकार्यबाट कोशीमा बन्ने मन्त्रिमण्डलमा काङ्ग्रेसले मन्त्रीहरूको नाम टुङ्ग्याउन समेत काठमाडौँ केन्द्रित लबिङ चलिरहेको जनाइएको छ । मन्त्रीका आकाङ्क्षीहरूको नाम धेरै भएका कारण काङ्ग्रेसले सत्ता समीकरणको मोडलमा एमालेसँग औपचारिक प्रस्ताव राख्न सकेको छैन ।
मुख्यमन्त्री कार्की शनिबार काठमाडौँ पुगेपछि कोशीमा सत्ता समीकरणको मोडल टुङ्गो लाग्ने र फर्किएर सरकारमा सहभागी हुने काङ्ग्रेसको तयारी रहेको जनाइएको छ ।
View : 132
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved