सांकेतिक तस्वीर ।
विराटनगर । तीन बालिका अपहरणको हल्ला विराटनगरमा ब्यापक छ । त्यही घटनाको आरोपमा दुई युवा प्रहरीको हिरासतमा छन् ।
अपहरणको हल्ला यति फैलियो कि सामान्य घटना (तिललाई पहाड) बनाए सरह भएको छ ।
विराटनगर–५ पुलचोक स्थित बाबाकुटी नजिकै शनिबार दिउँसो विद्यालय बिदा भएकाले तीन बालिका खेल्दै थिए । ३ र ४ कक्षामा पढ्ने बालिकाहरू खेलिरहेको चौरमा दुई मोटरसाइकलमा चार युवा आएर डर देखाए ।
युवाहरूको डरले भागेका बालिकाहरू चार घण्टापछि घर आएका थिए । बालिकाहरूले उनीहरूलाई डर देखाउने समूहको हुलिया बताएपछि घटना सार्वजनिक भएको थियो ।
बालिकाहरूले चिनाएपछि स्थानीयले मनिष चौधरी र नसिम मिया“लाई नियन्त्रणमा लिएर कुटपिट गर्दै प्रहरीको जिम्मा लगाएका छन् ।
युवालाई नियन्त्रणमा लिंदै गर्र्दा घटनास्थलमा पुगेका कटहरीका युवराज श्रेष्ठले बालिकालाई अपहरण गरेको आरोपमा उनीहरूलाई स्थानीयले समाएर प्रहरीलाई बुझाएको बताए । प्रहरीले पनि यो घटनालाई सामान्य भएको बताएको छ ।
पक्राउ परेका दुई युवालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले अदालतबाट अनुमति लिएको छ । मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुडालले आरोपीले बालिकाहरू प्रति गलत गरेको भएपनि गम्भीर अपराध भनें नभएको बताइन् ।
पक्राउ परेका दुबैलाई बालबालिका बिरूद्धको कसुरको दफा ६६ (ख) अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाएको उनले बताइन् ।
बालिकाका आफन्त अशोक ठाकुरले मुख छोपेर आएका युवाहरूले लखेटेपछि बालिकाहरू खेतैखेत भागेको बताए । उनीहरू भागेर निकै पर गएपछि चिनेजानेको सिटी सफारी चालकले सुनसरीको चिमडीसम्म घुमाएर ल्याएका थिए ।
चार घण्टापछि आएका बालिकाले परिवारजनमा नचिनेका मानिसले समाएर लैजान खोजेकाले भागेको बताएका थिए ।
‘केटाहरूले एक जना नानीलाई कपाल समाएको, एकको हात समाएको र भाग्दा ढुङ्गाले हानेर चोट लागेको पाइएको छ, अपहरण गर्न वा नानीहरूलाई दुःख दिन खोजिएको हो’ ठाकुरले भने ।
बालिकालाई डर देखाउने मध्येका दुई पक्राउ परे पनि अरू दुई फरार छन् ।
View : 288
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved