Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

झुम्का जेलबाट भागेका कैदीमध्ये साढे ८ सय अझै फरार

उद्‌घोष संवाददाता
६ असोज २०८२, सोमवार

सुनसरी । सुनसरीको झुम्का कारागारबाट भदौ २३ गते राति भागेका १ हजार ५ सय ७५ जना कैदीबन्दी मध्ये ८ सय ४६ जना अझै फरार छन् । 

जेनजी आन्दोलनका क्रममा भदौ २३ गते राति आन्दोलनकारी कारागार पुगेर कैदीलाई भगाएका थिए । दिनभर शान्त रहेको कारागार राति एकाएक तनावग्रस्त बनेको थियो । 

आन्दोलनका कारण उक्त दिन दिउँसो देशभरका कारागारबाट कैदीबन्दी भागेको थाहा पाएपछि झुम्का कारागारका कैदी पनि आन्दोलनकारीको सहयोगमा फरार भएका थिए । 

कारागार प्रशासनका अनुसार उक्त दिन सुरूमा राति साढे १० बजे ब्लक ‘बी’ बाट ४ सय ५० को हाराहारी कैदी भागेका थिए । 

प्रहरी प्रशासन बिस्थापित भैसकेको र सेनालाई खबर गर्दा पनि बेलैमा नपुगेपछि १ हजार ५ सय ७५ जना भाग्न सफल भएका थिए । त्यसपछि प्रहरीले फरार भएकालाई तत्काल फर्किन आग्रह गरेको थियो । केहीलाई सेनाले पक्राउ गरी कारागार प्रशासनको जिम्मा लगाएको थियो । 

अहिले कारागारमा ९ सय ५० जना मात्र कैदीबन्दी रहेको कारागारका सूचना अधिकारी राम निरौलाले जानकारी दिए । 

उनका अनुसार फरार भएका ८ सय ४६ जना कैदी अझै सम्पर्क बाहिर रहेकाले आफन्तलाई सम्पर्क गरी कारागारमा बुझाइदिन आग्रह गरिएको छ । 

प्रहरी प्रशासनले पनि खोजी अभियान चलाएको जनाएको छ । झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी दुई वटा ब्लक  छन् । 

दुबै ब्लकमा १ हजार सात सय ९९ जना कैदी छन् । ती मध्ये ३ जना अस्पतालमा उपचारत छन् ।

View : 340

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved