सुनसरी । धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट गाँजा १ सय ४९ किलोसहित १४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बिआर १० पी ९१५४ नम्बरको बोलेरोबाट ५० किलो गाँजासहित चालक भारत बिहार कुर्निया बस्ने ३१ वर्षीय मनोरन्जन मुइमार समेत ४ जना र एमपी १७ टिए ०५१२ नम्बरको बोलेरोबाट ९९ किलो गाँजासहित चालक भारत बिहार कुर्निया बस्ने ३९ वर्षीय गोपी मण्डलसमेत ५ जनालाई पक्राउ गरेको हो ।
उक्त लागूऔषधको कारोबारमा संलग्न बिआर १० एजे ४४८६ नम्बरको कारमा सवार भारत बिहार कुर्निया बस्ने २३ वर्षीय सन्तोष साहसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यसैबीच उदयपुरको बेलका नगरपालिका–६ बस्ने २४ वर्षीय दिपेश राई र सोही नगरपालिका–९ बस्ने ३० वर्षीय भुपेन्द्र राईलाई भरूवा बन्दुक र लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले दिपेशको घर तलासी गर्दा लोड गरी राखेको अवस्थामा भरूवा बन्दुक १ थान, बन्दुकमा लाग्ने बारूद, ट्रामाडोल १२ चक्की र गाँजा ५ सय १० ग्राम फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
View : 150
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved