विराटनगर । आवश्यक तयारी नपुगेको भन्दै कोशी प्रदेश सरकारले स्थगित गरेको प्रदेशकै पहिलो लगानी सम्मेलन २०८२ बैसाख १८ र १९ गते हुने भएको छ ।
आउँदो माघको ११ देखि १३ गतेसम्म गर्ने भनिएको सम्मेलन अन्तिम समयमा आएर तीन महिनापछि सारिएको हो ।
कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
उनले परियोजनाहरूको सोकेसिङ, कानुनको संसोधन र खरिद प्रकृयामार्फत् काम गर्नका लागि समय अभाव भएकोले लगानी सम्मेलनको मिति सार्ने निर्णय गरिएको बताए । साथै कतिपय कानुन र नीतिमा समेत संशोधन गर्न केन्द्रीय सरकारको सहयोग आवश्यक भएकोले सम्मेलनलाई बैशाखमा सारिएको बताए ।
कोशी प्रदेश सरकारले उक्त लगानी सम्मेलनमा एक खर्ब रुपैयाँको लगानी भित्र्याउने गरी तयारी अघि बढाएको जनाइएको छ ।
लगानी सम्मेलनका लागि चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम र बजेटबाट लगानी सम्मेलन आयोजनाको बाटो खोलेको थियो ।
बैशाखमा आयोजना हुने लगानी सम्मेलन भव्य रूपमा सम्पन्न गरिने मन्त्री भण्डारीले जानकारी दिए । साथै प्रदेशसभाको आगामी अधिवेशन माघको पहिलो साताभित्रै आह्वान गर्ने गरी तयारी अघि बढाइएको बताए । त्यसअघि नै सरकारले कोशी प्रदेशसभामा कम्तिमा पनि ६ वटा विधेयक पठाउने जनाइएको छ ।
View : 41
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved