विराटनगर । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएपछि शेरबहादुर देउवा समूहबाट शेखर कोइराला समूह टाढिन थालेको छ ।
सर्वोच्चको आदेशपछि शनिबार पूर्णबहादुर खड्काले बोलाएको बैठकमा सहभागी हुन इन्कार गरेर शेखर समूहले आफू देउवा समूहबाट टाढिएको प्रष्ट संकेत दिएको छ ।
सर्वोच्च अदालतको शुक्रबारको फैसलाले विशेष महाधिवेशनबाट चुनिएको थापा पक्षलाई आधिकारिकता दिंदै देउवा र खड्काले दायर गरेको रिट खारेज गरेको थियो ।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले निर्वाचन आयोगको निर्णय सदर गर्दै थापा नेतृत्वको कार्यसमितिलाई कानुनी वैधानिकता प्रदान गरेको हो । यो आदेशसँगै तीन महिनादेखि चलेको आधिकारिकताको विवाद कानुनी रूपमा टुंगो लागेको छ ।
सर्वोच्चको आदेशको भोलिपल्ट शनिबार खड्काले देउवा समूहको बैठक बोलाएका थिए । बैठकमा शेखर कोइराला समूहका कुनै पनि नेता उपस्थित भएनन् ।
बरु नेता धनराज गुरुङले शेखर समूहको अलग्गै बैठक बोलाएको समाचार आएको थियो । यद्यपि कोइरालाको सचिवालयले यसबारे जानकारी नभएको बताएको छ ।
यसअघि देउवा र खड्कासँगै मिलेर विशेष महाधिवेशनको विरोध गर्दै आएको शेखर समूहले आफूले पार्टी एकताको निम्ति पहल गरिरहेको बताउँदै आएको थियो । कोइराला परिवारको राजनीतिक विरासत धानिरहेका शेखर लामो समयदेखि देउवाको विपक्षमा उभिंदै आएका थिए ।
१४औं महाधिवेशनमा देउवाविरुद्ध सभापतिको उम्मेदवार बनेका उनी विशेष महाधिवेशनको मागलाई लिएर गगन थापा–विश्वप्रकाश शर्मा समूहसँग नजिकिएका थिए । तर, विशेष महाधिवेशन हुनुभन्दा ठीक अगाडि उनी देउवा समूहतिर उभिन पुगेका थिए ।
त्यसक्रममा विशेष महाधिवेशन गर्न अगुवाइ गरेका तत्कालीन महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई देउवा समूहले प्रारम्भिक स्पष्टीकरणसमेत नमागी पाँच वर्षका लागि कांग्रेसको साधारण सदस्यबाटै निष्काशन गरेको थियो ।
देउवा समूहले गरेको यो कारबाहीमा शेखर कोइराला पक्षले निशर्त साथ दिएको थियो ।
यद्यपि निर्वाचन आयोगले थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेपछि देउवा समूहकमा नेताहरु र शेखर स्वयम्ले गगन थापाको हस्ताक्षर भएको टिकट लिएर चुनाव लडेका थिए ।
गएको पुस अन्तिममा भएको कांग्रेसको विशेष महाधिवेशनमा देउवा र शेखर दुवै पक्षले भाग लिएनन् ।
निर्वाचन आयोगले गगन पक्षलाई आधिकारिकता दिएपछि देउवा–खड्का समूहले सर्वोच्चमा रिट दायर गरे ।
शेखर समूहले भने खुल्ला रूपमा कुनै पक्ष नलिई ‘पार्टी एकता’ को कुरा गर्दै आएको थियो ।
एकताको कुरा गरिरहे पनि देउवा–खड्का समूहले बोलाएका भेला, बैठकहरुमा शेखरसहित उनको समूहका नेताहरु सहभागी हुँदै आएका थिए । अब के हुनेछ त शेखर कोइरालाको रणनीति ?
शेखर निकट नेताहरुका अनुसार सर्वोच्चको आदेशपछि अब अर्को बाटो हिंड्ने विकल्प समाप्त भएको छ ।
‘अब अर्को बाटो हिंड्ने विकल्प छैन,’ समूहका एक नेताले भने ‘अब गगन थापा नेतृत्वसँग आत्मसम्मानपूर्ण सहमति खोज्ने रणनीति बन्न सक्छ ।’
त्यसो त केही दिनअघि शेखर कोइराला स्वयम्ले ‘गगन थापा सभापति भएर केही नबिग्रेको’ भन्दै पार्टी संस्थापनसँग ‘सहमति गर्न सकिन्छ, तर झुकेर होइन’ भनेका थिए । यसले पनि कांग्रेस संस्थापनसँग विद्रोह गर्ने मनस्थितिमा कोइराला नरहेको देखाउँछ ।
शेखर समूह टाढिन थालेको कदमले देउवा–खड्का समूहलाई थप कमजोर बनाउने आँकलन कांग्रेसभित्र सुरु भएको छ ।
शेखर समूहले सर्वोच्चको आदेशलाई ‘स्वीकार’ गर्दै नयाँ नेतृत्वसँग संवाद बढाउने संकेत दिएको छ भने देउवा–खड्का समूहले के गर्ने भन्नेबारे छलफल गरिरहेको छ ।
View : 184
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved