विराटनगर । सरकारमा सहभागी दल नेकपा माओवादीले नै समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र नेपाली कांग्रेसका सांसदहरूबीच बुधबार चर्चाचर्की परेको छ ।
प्रदेश सभामा दर्ता भएको संकल्प प्रस्तावलाई रोक्न कांग्रेसका सांसदहरूले भूमिका निर्वाह गर्नुपर्ने र आवश्यक परेमा मध्यावधि निर्वाचनमा समेत जान कांग्रेस तयार हुनुपर्ने भन्दै मुख्यमन्त्री कार्कीले अभिव्यक्ति दिएपछि बहुमत सांसदहरूले उनको भनाइमा असहमति जनाएका थिए ।
कांग्रेस संसदीय दलको निर्णयविपरीत एमालेकै सहयोगमा विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कार्की मुख्यमन्त्री बनेयता कांग्रेसका संस्थापन पक्षमा रहेका बहुमत सांसदहरू असन्तुष्ट छन् । त्यो असन्तुष्टि दलको बैठकमा समेत प्रकट भएको हो ।
दलको उपनेताबाट राजीनामा गरेका पूर्वमन्त्री हिमाल कार्की र पूर्व प्रमुख सचेतक भुपेन्द्र राईले मुख्यमन्त्री कार्कीको अभिव्यक्तिको विरोध जनाएपछि बैठकमै चर्काचर्की भएको थियो ।
अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजीनामा दिएर मार्ग प्रसस्त गर्न भन्दै संसदीय दल दलका नेता उद्धव थापाले बोलेको बिषयमा मुख्यमन्त्री निकट केही सांसदहरूले जवाफ मागेकोपछि बाँकी सांसदहरू मुख्यमन्त्री कार्कीविरुद्ध उत्रिएका थिए ।
बैठकमा होहल्ला हुनुका साथै टेबुल ठोकाठोक समेत भएको थियो । मुख्यमन्त्रीको अभिव्यक्तिले बैठक असहज भएको कांग्रेस सांसद हिमाल कार्कीले बताए । उनले एकजनाको विषयमा मात्रै नभएको भन्दै बैठकमा बहुमत सांसदहरूले मुख्यमन्त्री कार्कीको धारणामा असहमति जनाएको दाबी गरे ।
चर्काचर्की भएपछि दलको बैठकले ठोस निर्णय नगरी सकिएको छ ।
दलका नेता थापाले धेरै विषयहरू उठेका कारण निर्णयमा पुग्न नसकिने भन्दै बैठक स्थगित गरेका हुन् ।
बैठक बिहीबार बिहान पुनः बस्ने जनाइएको छ ।
View : 354
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved