उद्योगी व्यवसायीलाई अर्थमन्त्री खनालको स्पष्ट जवाफ
विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रका सवै सुझाव अहिले नै आफूले ग्रहण गर्न नसक्ने बताएका छन् ।
बुधबार विराटनगर भन्सार कार्यालयबाट सुरु गरिएको ‘अनलाइन भ्यालुएशन सिस्टम’ को उद्घाटनपछि यहाँका उद्योगी व्यवसायीहरूको सुझाव ग्रहण गर्ने क्रममा मन्त्री खनालले आफू कुराभन्दा काम बढी गर्नुपर्छ भन्ने मान्यतामा अघि बढेको बताए ।
आफूले सवैको कुरा सुन्न चाहेको र सबैप्रति सहयोगी भएर काम गर्न चाहेको स्पष्ट पारे ।
अहिलेसम्म व्यवसायीलाई नाफामात्रै कमाउन बसेको र सरकारलाई भलाई मात्रै गर्न बसेको भनेर परिभाषित गर्ने कुरा बिर्सिएर एक अर्कोप्रति भरोसा बढाउनु पर्नेमा जोड दिए ।
मोरङ उद्योग व्यापार संघमा आयोजित भेटघाटमा पूर्वका उद्योगी व्यवसायी आवद्ध रहेका अधिकांश संघ संगठनका प्रतिनिधि उपस्थित थिए ।
उक्त कार्यक्रममा संघका अध्यक्ष अनुपम राठीले मन्त्री खनाललाई उद्योगी व्यवसायीका अल्पकालिन र दीर्घकालिन सवाल र मुद्दाहरू प्रस्तुत गरेका थिए ।
मन्त्री खनालले उद्योगी व्यवसायीकै माग अनुसारका अधिकांश विषयलाई समेटेर व्यवसायिक सुरक्षा योजना अघि बढाइसकेको जानकारी दिए । सरकारको तर्फबाट अहिले काम गर्ने समय भएकोले भाषणमात्रै गरेर आफू बस्न नसक्ने जवाफ दिए ।
‘म कुराभन्दा काम बढी गर्नुपर्छ भन्ने चाहन्छु, भाषण गर्दै हिड्नु हुँदैन भन्ने मान्यता हो । कामै नगरी कामले नागरिकलाई राहत नदिइकन हामीले बोल्दै हिड्न हुँदैन’ मन्त्री खनालले भने, ‘मलाई आगामी दिनमा पनि भाषण गर्न नलगाउनु होला, किनभने म सवैको कुरा सुन्न चाहन्छु । म अत्यन्तै सहयोगी हुन चाहन्छु ।’
उनले जेनजी आन्दोलनले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न मुख्य लक्ष्य देखाएको बताए । उद्योगीहरूका सवै समस्या समाधान गर्न अहिलेकै अवस्थामा अध्यादेश ल्याएर काम गर्न सकिने अवस्था नरहेको पनि स्पष्ट पारे ।
‘जति आशा गर्न सकिन्छ त्यतिमात्रे गरौं, सरकार र निजी क्षेत्र हामी एउटै पानामा हुनुपर्छ, सौभाग्यबस् हामीलाई मौका पनि मिलेको छ’ उनले भने, ‘जेनजी आन्दोलनले मुलुकमा सुशासन र भ्रष्टाचारको अन्त्य गर्न मुख्य माग गरेको हो, देश भ्रष्टाचारले बस्नै नहुने भयो भन्ने सन्देश थियो, भ्रष्टाचारमा निजी क्षेत्र पनि सहयात्री भयो, एउटा तप्काले मात्रै सत्ताको सधै लाभ लिइरह्यो । पीडित भएका व्यवसायीले मलाई त्यो सिस्टम ब्रेक गरिदिनु भयो भनेर भन्नु भएको छ । अब मुलुकमा बस्न सकिन्छ कि भन्नु भएको छ ।’
उनले जेनजी आन्दोलनमा नाममा निजी क्षेत्रमा समेत ठूलो क्षति भएको भन्दै दुःख व्यक्त गरे ।
आफू निकै अप्ठेरो परिस्थितिमा अर्थमन्त्री बन्नु परेको बताउँदै आन्दोलनका क्रममा निजी क्षेत्रले निर्माण गरेको सम्पति पनि राज्यको सम्पति हो भन्ने कुरा बुझाउन नसक्दा क्षति व्यहोर्नु परेको बताए । यस्तो अवस्थामा आफूले निजी क्षेत्रका सवै माग सम्बोधन गर्न नसक्ने मन्त्री खनालले स्पष्ट पारे ।
‘दीर्घकालिन, मध्यकालिन सुझाव भन्नु भएको छ, म दुईवटै सुझाव अहिले कार्यान्वयन गर्न सक्दिन, अहिले म सुन्छु । मलाई पनि रमाइलो लागेको छ । यहाँहरूलाई लाग्छ होला’ उनले भने, ‘संवाद यस्तो होस् कि तपाईँहरूले भनेको कुरा मैले सुनेपछि त्यसमा आलटाल गर्नु नपरोस् । सुनेको ५ दिनपछि त्यो कार्यन्वयन होस् ।’
मुलुकमा गलत सूचनाले अर्थतन्त्रका सूचकलाई असर गर्ने गरेको उनले बताए ।
राज्यका केही सूचना केही खास खासलाई मात्रै पुग्ने तर अरुलाई केही थाहा नहुने अवस्था बनेकोले उद्योग व्यवसायमा क्षति पुगेको बताए ।
मन्त्री खनालले आगामी फागुन २१ मा सरकारले निर्वाचन गर्ने भनिसकेको अवस्थामा आचारसंहिता लागेपछि आफूले केही गर्न जानकारी दिंदै आगामी मंसिरको पहिलो सातासम्म महत्वपूर्ण निर्णय लिइसक्ने बताए ।
उद्योगी व्यवसायीका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सारमा मालबस्तुको मूल्यको मूल्याङ्कन वैज्ञानिक नभएको भनेर धेरै समयदेखि आफूहरूले भनिरहेको अवस्थामा विराटनगरबाट अनलाइन भ्यालुएशन सुरु हुनु निकै सुखद् भएको बताए ।
त्यसको कार्यान्वयनका लागि उद्योगी व्यवसायी पनि इमान्दारिताका साथ लाग्नुपर्ने बताए ।
सरकारले निजी क्षेत्रबाट प्रस्तुत गरिएको सुझावलाई स्वीकार गर्दै अघि बढेको उनले बताए ।
‘निजी क्षेत्रका लागि सरकारले सुझाव लिनु गौरवको कुरा हो, केही सुझाव सम्बोधन पनि भैसकेको छ’ ढकालले भने, ‘आन्दोलनमा घुसपैठ भएर व्यक्तिगत सम्पति र उद्योगहरूमा तोडफोड भयो, राज्यले हामीलाई दिने सुरक्षा हाम्रो लागि महत्वपूर्ण छ, सरकारले तत्कालै एक्सन लिएकोमा हामी खुसी छौं ।’
नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडाले उद्योगीको मनोबल खस्केको अवस्थामा अब त्यो मनोबल बलियो बनेको बताए । उनले खुला सीमाका कारण अहिले पनि मुलुकको ठूलो राजश्व गुमिरहेको तर्फ मन्त्री खनालको ध्यानाकर्षण गराए ।
‘यताको व्यापार व्यवसाय खस्किएको छ, यहाँका व्यापारी सबैले जोगवनीमा पसल खोलेर बस्न थालेका छन्, किनभने यहाँ भारतको भन्दा ४० प्रतिशतसम्म बढी भन्सार लाग्छ’ सारडाले भने, ‘टिभी र नुनमा एउटै भ्याट लागेको छ, यसको परिणाम नेपालको राजश्व र रोजगारी सबै उतातिर सरेको छ, बोर्डरमा सुरक्षा निकायको उपस्थिति घटेको छ ।’
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुमप राठीले उद्योग व्यापार बन्द गर्नुपर्ने मनस्थितिमा पुगेको बेलामा अहिलेको सरकारले नयाँ आशा जगाएको बताए ।
उनले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण र भन्सार दर संशोधन गर्नु आवश्यक रहेको सुझाव दिएका थिए ।
View : 348
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved