Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

मनसुन भित्रिएको पहिलो दिन नै कोशीमा बाढीको वितण्डा, लेउती खोलाले बगायो कोशी लोकमार्ग

उद्‌घोष संवाददाता
१७ जेठ २०८२, शनिवार

Advertisement

विराटनगर । यसवर्षको मनसुन भित्रीएको पहिलो दिन शुक्रबार रातिको अति भारी वर्षापछि लेउती खोलामा आएको बाढीले धनकुटामा कोशी लोकमार्ग बगाएको छ ।

साँघुरीगढी गाउँपालिका-६ स्थित फेदीमा लेउती खोलाले करीव ३० मिटर कालोपत्रे सडक भत्काएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । खोलाले सडक कटान गरेर बगाएपछि कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । 

‘रातिको भीषण झरीले सेउती खोलामा बाढी निम्त्यायो, त्यही बाढीले कम्तीमा २५ देखि ३० मिटर बाटो भत्काएको छ,’ धनकुटा प्रहरी प्रमुख एसपी शरदकुमार थापा क्षेत्रीले भने ‘यसले आज बिहानैदेखि कोशी लोकमार्ग अवरुद्ध बनेको छ।’

यो ठाउँ भेडेटारबाट धनकुटा सदरमुकाम जाने बाटोमा पर्दछ ।

धनकुटामै बाढीले थप दुई ठाउँ बाटोमा अवरोध पुर्याएको छ। चौबीसे गाउँपालिका-४ मा छहरे खोलाले तमोर करिडोरको बाटो पनि भत्काएको एसपी क्षेत्रीले जानकारी दिए ।

यसले धनकुटाबाट पाँचथर–ताप्लेजुङ जोड्ने यातायात मार्ग पनि ठप्प पारेको छ ।

साँघुरीगढी गाउँपालिकामै रहेको नमस्ते झरना नजिकै पनि बाढीले बाटो अवरोध गरेको थियो । त्यहाँको अवरोध भने प्रहरीले पन्छाएको छ ।

सरदरभन्दा १५ दिन अगावै शुक्रबारबाट नेपालमा मनसुन प्रवेश गरेको थियो ।

मनसुनको पहिलो दिन नै पूर्वमा १२ घन्टाभित्र २०३ मिलिलिटरभन्दा माथि पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

View : 1182

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved