Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

आरोहण गुरुकुल विराटनगरमा नाटक

‘लौ आयो ताजा खबर’ नाटक मञ्चन जारी

उद्‌घोष संवाददाता
२८ माघ २०८२, बुधवार

Advertisement

विराटनगर ।   विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटक घरमा सुरेन्द्र नकर्मीद्वारा लिखित लघुनाटक ‘लौ आयो ताजा खबर’ को मञ्चन जारी छ।

माघ १७ गतेदेखि सुरु भएको नाटकले दैनिक दर्शकको ध्यान आकर्षित गरिरहेको छ।

कक्षा ११ को अनिवार्य नेपाली पाठ्यपुस्तकमा समावेश उक्त नाटकले लागुपदार्थ दुव्र्यसन, अभिभावकीय बेवास्ता र सामाजिक जिम्मेवारीको विषयलाई सशक्त रूपमा उठान गरेको छ।

यसले युवापुस्तामा बढ्दो कुलतको समस्यालाई परिवार, समाज र राज्यको सामूहिक असफलतासँग जोड्दै गहिरो सामाजिक सन्देश प्रवाह गरेको छ।

बुधबार दिवा सत्रमा लिलिपुट विद्यालयका विद्यार्थीहरूले नाटकको अवलोकन गरेका थिए। विद्यार्थीहरूले नाटकलाई शिक्षाप्रद र चेतनामूलक रहेको प्रतिक्रिया दिए।

नाटक अवलोकनपश्चात् पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा. सन्देशराज श्रेष्ठले मञ्चन उत्कृष्ट रहेको बताउँदै यस्ता सामाजिक सन्देश बोकेका नाटकले युवामा सकारात्मक सोच र सचेतना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले नाटकले समाजको यथार्थ चित्रण गर्दै दर्शकलाई आत्ममूल्यांकन गर्न प्रेरित गरेको उल्लेख गरे। उनका अनुसार नाटक केवल मनोरञ्जनको माध्यम नभई सामाजिक रूपान्तरणको सशक्त माध्यम बनेको छ।

माघ १७ गतेदेखि निरन्तर मञ्चन भइरहेको ‘लौ आयो ताजा खबर’ ले विराटनगरका दर्शकमाझ सकारात्मक चर्चा बटुलिरहेको छ।

 

 

View : 476

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved