Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

बजेटका निर्माण सुरु भएसँगै उद्योग संगठनले बुझायो प्रधानमन्त्रीलाई विशेष सुझाव

उद्घोष सम्वाददाता
२ वैशाख २०८१, आइतवार

विराटनगर । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा गएको संगठनको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थ मन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेटघाट गरी उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समस्या र आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा सुझाव पेश गरेको छ ।

प्रतिनिधि मण्डलले विद्युत आपूर्तिको समस्या, बजारको सुस्तता, औद्योगिक क्षेत्रमा परेको प्रभाव, तत्काल गर्नुपर्ने कार्य, आगामी बजेटले सम्बोधन गर्नुपर्ने लगायतका विषयहरूमा ध्यानाकर्षण गराई समस्या समाधानका लागि सरकारको तत्परताका लागि प्रधानमन्त्री समक्ष आग्रह गरेको जनाइएको छ । 

अर्थमन्त्री वर्षमान पुनसँगको भेटघाटमा संगठनको टोलीले आगामी आर्थिक वर्ष २०८१÷८२ मा सम्बोधन गर्नुपर्ने निजी क्षेत्रका विषयहरू समेटिएको सुझाव पेश गर्नुका साथै अहिलेको आर्थिक सुस्तता, निरासालाई सम्बोधन गर्ने गरी आगामी बजेट निर्माण गर्न आग्रह गरेको छ । 

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँगको भेटघाटमा उद्योग धन्दाको हालको अवस्थाप्रति सम्वेदनशील भई अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरिएको संगठनले जनाएकोे छ । 

प्रकृयागत जटिलता सरलीकरण गर्दै विराटनगरसम्म  कार्गाे रेल तत्काल सञ्चालनको वातावरण तयार गर्न, औद्योगिक पूर्वाधार निर्माणका साथै आगामी बजेट सम्बन्धी सुझाव समेत प्रस्तुत गरेको छ ।

त्यस्तै टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङसँग पनि भेटघाट गरी पर्यटन प्रवद्र्धनका लागि विशेष योजनाका  साथ भारतीय पर्यटक भित्राउन सुझाव दिएको छ ।

यसका साथै संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय कार र्‍याली कनेक्ट नेपाल इन्भेष्टमेन्ट मिशनमा सहकार्य गर्न पनि मन्त्री तामाङलाई अनुरोध गरिएको संगठनले जनाएको छ ।

टोलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पनि भेटवार्ता गरी विभिन्न सुझाव पेश गरेको छ ।

उद्योग संगठनका अनुसार घिसिङसँगको भेटवार्तामा  विद्युत आपूर्तिको समस्याले आजित उद्योग व्यवसायको वर्तमान अवस्थाका बारेमा ध्यानाकर्षण गराउँदै विद्युत आपूर्ति नियमित र गुणस्तर सुधार गर्न र विद्युत आपूर्तिमा समस्या हो भने तालिका सार्वजनिक गर्न माग गरिएको छ ।

View : 78

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved