विराटनगर । ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणावतीदेवी थारुको नेतृत्वमा जनप्रतिनिधिहरूले पालिकाको लेखा शाखामा तालाबन्दी गरेका छन् ।
पालिका अध्यक्ष नमोनारायण माझीले अवैध रुपमा कार्यपालिका बैठक गरेको फर्जी निर्णयका आधारमा लेखा शाखाले रकम भुक्तानी गरेको विरोधमा उपाध्यक्ष थारुले बुधबार बिहान तालाबन्दी गरेकी हुन् ।
तालाबन्दीमा उपाध्यक्ष थारुसहित विभिन्न वडाका वडाध्यक्ष र वडा सदस्यहरूको समेत उपस्थिति रहेको जनाइएको छ । अध्यक्ष माझीले मंगलबार मात्रै आफ्नै कोठामा सीमित जनप्रतिनिधिलाई राखेर कार्यपालिका बैठकको माइन्यूट गरेका थिए ।
कार्यपालिका बैठकका सभाहलमा बोलाइएका उपाध्यक्ष थारुसहितका अन्य जनप्रतिनिधिलाई छलेर अध्यक्ष माझीले आफ्नै कोठामा कार्यपालिका बैठकको निर्णय उठाएपछि स्थानीय युवाहरूले समेत विरोध जनाएका थिए ।
अध्यक्ष माझी गाउँपालिकाका अन्य जनप्रतिनिधिहरूलाई जानकारीनै नदिई पछिल्लो पटक गैरकानुनी रुपमा कार्यपालिका र गाउँसभाको बैठकको निर्णय खडा गरेर आफूखुसी बजेट खर्च गर्दै आएको आरोप लाग्दै आएको छ ।
उनले आफूअनुकूल निर्णयमा हस्ताक्षर नगर्ने उपाध्यक्ष थारुसहित एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले प्रयोग गर्ने गाडीसमेत खोसेका थिए ।
तर, पछि आफैंले गाडी चढ्नुपर्ने बाध्यता भएपछि पालिकाभित्र थन्क्याइएका सवारी साधन निकालेर मनलाग्दी प्रयोग गर्दै आएका छन् ।
त्यसैको विरोधमा उपाध्यक्ष थारुले केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालयअगाडि अध्यक्ष माझी चढेको गाडीको चाबी खोसेकी थिइन् ।
View : 215
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved