Biratnagar, Morang, Nepal
७ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

प्रतिस्पर्धात्मक लाभ पहिचानका लागि कार्यशाला

उद्घोष सम्वाददाता
४ पुष २०८१, बिहिवार

विराटनगर । विकासका अवसरबाट स्थानीय तहले लिनुपर्ने प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरू पहिचान गर्नका लागि विराटनगर महानगरपालिकामा बुधबार कार्यशाला सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकासहित नेपाल उद्योग वाणिज्य महासंघ कोशीको आयोजना र जीआईजेड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा विराटनगरले विकासका अवसरहरूले उत्पन्न गर्ने प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरूको पहिचान गर्नुपर्नेमा जोड दिइएको हो । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले विराटनगरको भौगोलिक अवस्थिति र प्रमुख व्यापारिक राजमार्ग रानी–किमाथाङ्का, एसियन–हाइवे जस्ता प्रमुख विकासका अवसरको उपयोग गरी भारत र चीन जस्ता मुलुकबाट हुने व्यापारमार्फत अवसर सिर्जना गर्नुपर्ने बताए । 

उनले विराटनगरलाई सीमापार व्यापारको प्रवेशद्वारको रूपमा स्थापित गरेको बताउँदै यहाँका उद्योग प्रतिष्ठानहरूले समेत उक्त अवसरबाट लाभ प्राप्त गर्नुपर्ने बताए । साथै देशका विभिन्न भागबाट सिर्जना हुने अवसरमा विराटनगरका कैयौं युवा–युवतीहरूलाई अवसर सिर्जना हुनुपर्ने बताए ।

अध्यक्ष राउतले प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरूको पहिचान गर्दै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताए ।

महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्योग व्यवसाय प्रवद्र्धनका लागि महानगरपालिका सदैव उद्योगी व्यवसायीहरूको साथमा रहेको बताए । उनले महानगरपालिकाले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै कुनै पनि व्यापार व्यवसायलाई बढाउन ‘कनेक्टिभिटी’ ले महत्वपूर्ण भूमिका खेल्ने बताए । 
विराटनगरको रणनीतिक अवस्थितिले गर्दा पनि आर्थिक विकासको प्रशस्त सम्भावना रहेको र प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरूको पहिचानले महानगरपालिकाको आर्थिक विकासमा थप सहयोग पुग्ने बताए ।

जीआईजेडका उपप्रमुख प्राविधिक सल्लाहकार एवं कम्पोनेन्ट प्रबन्धक रोशन श्रेष्ठ, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडाध्यक्षहरू, विभिन्न उद्योग संगठनका प्रतिनिधिहरू, निजी, सहकारी, गैरसरकारी संस्था, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सम्वद्ध क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यशाला गोष्ठीलाई दिप्ती खकुरेलले सहजीकरण गरेकी थिइन् । 

गोष्ठीमा व्यापार, उद्योग, कृषि तथा पशुपंक्षी, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्र जस्ता आर्थिक क्षेत्रबाट समूहगत रुपमा सुझावहरू प्रस्तुत गरिएको थियो ।

View : 47

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved