विराटनगर । संखुवासभाको चिचिला गाउँपालिकाले प्रकाशित गरेको ‘चिचिला अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन–२०८१’ नामक स्मारिका विमोचन गरिएको छ ।
स्मारिकाको परिकल्पना, संयोजन, संकलन तथा सम्पादन पाख्रिबासे कान्छो नामले समेत परिचित साहित्यकार ताराबहादुर बुढाथोकीले गरेका हुन् ।
संखुवासभामा आयोजित कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले स्मारिकाको विमोचन गरे ।
साहित्यकार बुढाथोकीले सम्पादन गरेको उक्त स्मारिकाले चिचिला गाउँपालिकाको परिचय अन्तर्राष्ट्रियस्तरमा पुग्ने मन्त्री राईले बताए ।
गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी तथा पूर्वप्रशासकीय अधिकृत शुक्रादेवी राईले पुस्तकको चर्चा गरिन् ।
उनले लामो समयसम्म गहिरो अनुसन्धान गरी आफूले सोचेभन्दा धेरै गुणा राम्रो पुस्तक बनेकोमा सम्पादकलाई धन्यवाद समेत दिइन् ।
बालकुमार तामाङले पुस्तक चिचिलाको दस्तावेज भएको चर्चा गरे । गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले सबै श्रेय सम्पादकमा जाने बताउँदै आफ्नो कार्यकालको एउटा ऐतिहासिक र उत्कृष्ट कार्य भएको बताए ।
लेखक तथा सम्पादक बुढाथोकीले पुस्तकभित्र चिचिलाको जीवन र जगतलाई प्राथमिकता साथ समेटेको र लामो समयको मेहनतले पुस्तक तयार भएको बताए ।
पुस्तकभित्र जातीय सांस्कृतिक पहिचान, प्राकृतिक सौन्दर्यको प्रकाशन र गाउँपालिकाको तथ्यलाई समावेश गरिएको छ ।
View : 27
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved