Biratnagar, Morang, Nepal
१९ जेठ २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेस नेता उद्धव थापाको कार्यक्षमतामाथि उठ्यो प्रश्न

मुख्यमन्त्रीको लाचार छायाँ बनेको अमृत अर्यालको आरोप

उद्‌घोष सम्वाददाता
१४ जेठ २०८२, बुधवार

विराटनगर । संसदीय दलका नेता उद्धव थापाको कार्यशैलीकै कारण प्रदेशमा पार्टीको अवस्था कमजोर र लाचार बनेको भन्दै नेपाली कांग्रेस कोशीका सांसदहरुले  थापाको भूमिकामाथि सार्वजनिक रुपमै प्रश्न उठाउन थालेका छन् । 

अहिलेसम्म संसदीय दलभित्र शेखर कोइराला पक्षका सांसदहरुको मात्रै प्रश्नको सामना गर्दै आएका नेता थापाविरुद्ध अब भने संस्थापनपक्षकै नेताहरु पनि खनिन थालेका छन् । यसको सुरुआत केन्द्रीय सदस्यसमेत रहेका कोशीका सांसद अमृत अर्यालले गरेका छन् । 

जीपी कोइराला लेबर फाउण्डेशन नेपालले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेता अर्यालले प्रदेश सभापतिसमेत रहेका पूर्व मुख्यमन्त्री थापाको कार्यशैलीको कडा  आलोचना गरे । साथै उनलाई प्रदेश सभापति बनाउन सहयोग गरेकोमा पश्चाताप पनि प्रकट गरे । 

उनले खुला रुपमा भने ‘गुरु घिमिरेलाई सभापतिमा हराएर उद्धव थापाजीलाई जिताउन लाग्नु मेरो जीवनको भूल भयो । यसले मलाई अहिले पछुतोमा पारेको छ ।’ 

आफ्नो राजनीतिक यात्राबारे उल्लेख गर्दै नेता अर्यालले दुई पटक मोरङ सभापति र दुई पटक नै केन्द्रीय सदस्य बनेको चर्चा गरे ।

२०७८ मा भएको कांग्रेस कोशीको पहिलो प्रदेश अधिवेशनबाट थापा गुरुराज घिमिरेलाई झिनो मतान्तरले हराउँदै सभापति चुनिएका थिए । 

उनलाई सभापति बनाउनै गल्ती भएको उल्लेख गर्दै अर्यालले थपे ‘प्रदेश सांसदको रुपमा अढाई वर्ष बिताइसक्दा पनि संसदमा बोल्न सक्ने अवस्था बनेको छैन । म जम्मा एकपटक बोलेको छु । प्रदेशसभामा कँंग्रेसका सबैले हिनताबोधमा रहनुपरेको छ ।’

त्यसो त अर्यालले भनिरहेका कुरा कांग्रेस संसदीय दलमा अरुले यसअघि भन्दै नभनेका भने होइनन् । खासगरी डा शेखर कोइराला पक्षका नेताहरु केदार कार्की, शमशेर राई लगायतका सांसदहरुले थापाको कार्यशैली कमजोर भएकै कारण प्रदेशमा कांग्रेस लाचार बन्नुपरेको बताउँदै आएका थिए ।

पूर्व मुख्यमन्त्री कार्कीले त सार्वजनिक रुपमै पनि भन्दै आएका थिए । संसदीय दलको चुनावमा थापा पहिलो हुँदा कार्की दोस्रो र अर्याल तेस्रो भएका थिए । 

दलभित्र प्रतिष्पर्धा भए पनि अर्यालले भने प्रदेश सभापतिका रुपमा थापालाई सहयोग गर्दै आएका थिए । अहिले आएर अर्याल पनि थापाविरुद्ध फायर खोल्ने तहमा कसरी उक्लिए ?

अहिले आएर दल नेताका विरुद्ध किन प्रस्तुत हुनुभयो भनेर उनलाई उद्घोषले सोधेको छ । जवाफमा अर्यालले त्यही कुरा भने, जुन अरु धेरै सांसदले पनि भन्दै आएका छन् । 

‘कोशी प्रदेशमा कांग्रेस एमालेको लाचार छायाँ जस्तो मात्रै भएको अवस्था छ’, अर्यालले भने ‘नामकरणका बेला पनि उद्धवजीले पार्टीलाई एमालेको एजेन्डा बोक्ने भरिया जस्तो बनाउनुभयो ।

त्यसपछिका हरेक गतिविधिमा पार्टीको न कुनै भिजन, न कुनै एजेन्डाको स्थिति भयो । जे जे निर्णय भयो, सबै खल्तीबाट भयो । यसरी पार्टी प्रदेशमा त कमजोर भयो नै, प्रदेशसभामा पनि निरीह बनेको छ ।’

नेता अर्यालले भने जस्तै कांग्रेस नेता थापा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको लाचार छायाँ बनेको कांग्रेसका सांसदहरुको भनाइ छ । 

‘उहाँलाई हिक्मत कार्कीले आफूलाई मुख्यमन्त्री बनाइदिने हो भन्ने ठूलो भ्रम छ, त्यसैले एमालेका सांसद भन्दा चर्को रुपमा मुख्यमन्त्रीको ढाल बनेर हिड्नुभएको छ’, कोशीकै एक कांग्रेस सांसदले भने ‘मुख्यमन्त्रीले दिनुपर्ने जवाफ पनि आफै दिंदै हिड्नु, भावी मुख्यमन्त्री बन्ने लोभमा एमाले र मुख्यमन्त्रीका नाजायज काममा पनि काँध हाल्ने कमजोरी थापाबाट भइरहेको छ ।’

ती सांसदका अनुसार संसदीय दलका बैठकहरुमा सबैजसो सांसदहरुले मुख्यमन्त्री कार्की आफ्ना आसेपासे पोस्न मात्रै लागेको, कांग्रेस सांसदको बजेट कटौती गरेको भन्दै कांग्रेस चाहिं लाचार बनेर टुलुटुलु हेरेर बसेको भन्दै आपत्ति जनाएका थिए । 

‘उहाँले आफू मुख्यमन्त्री बन्ने र सरकारलाई साथ दिंदा प्राप्त हुने केही व्यक्तिगत सुविधाको लोभमा पार्टीलाई अस्तित्वविहीन तुल्याउनुभएको छ’, ती सांसदको थप आरोप छ ‘उहाँ झापामा ट्याक्कटुक्क मिलाएर अघि बढ्ने बानी पर्नुभएको रहेछ । खासमा उहाँ राजनीतिक मान्छे नै होइन ।’ ती सांसदले ‘अफ दि रेकर्ड’ भनेको कुरा अमृत अर्यालले भने खुला रुपमै भनेका छन् ।

‘उद्धवजीमा राजनीतिक कल्चर एकदमै कमजोर रहेछ, त्यही कारण हामीले प्रदेशसभामा अपमानित भएर बस्नुपरेको छ’ उनले भनेका छन् ।

झापामा दुईपटक चुनाव हारेपछि समानुपातिकबाट छानिएर प्रदेशमा आएका थापा यसअघि दुईपटक मुख्यमन्त्री बनेका छन् ।

पहिलोपटक २२ दिनमा सर्वोच्च अदालतबाट पदमुक्त बनेका उनी दोस्रो पटक ३८ दिनमा सर्वोच्चबाटै पदमुक्त बनेका थिए । 

दुईपटक अदालतबाट पदमुक्त हुनुपरेको रनाहामा रहेका उनी एमालेले मुख्यमन्त्री बनाइदिने लोभमा उसैको पछिपछि दौडिरहेको उनकै सांसदहरुको आरोप छ । 

‘पहिलो कुरा यो गठबन्धन टिक्ने नटिक्ने टुंगो छैन, यस्तोमा अडान र एजेन्डा सारेर मुख्यमन्त्रीलाई कस्नुपर्ने थापाले जसोजसो एमाले, उसैउसै स्वाहा गरेर पार्टीको स्वाभिमान ध्वस्त पारेका छन्’, डा शेखर कोइराला पक्षका एक सांसदले भने ‘अमृत दाइले बल्ल थाहा पाउनुभएछ । खुसी लागेको छ ।’ 

शेखर पक्षका सांसदहरु थापाले जतिसुकै लोभ देखाए पनि उनी अब मुख्यमन्त्री बन्न नसक्ने ठोकुवा गर्छन् । 

‘राजनीतिक चरित्र नै नभएका, क्षमता र भिजन नभएका उनलाई अब कांग्रेसले अघि सार्ने सम्भावना छैन’ ती सांसद भन्छन् ।

थापा लामो समय पार्टीभित्रको विभिन्न जिम्मेवारीमा रहेका नेता हुन् । क्षेत्रीय सभापति, जिल्ला सचिव, उपसभापति हुँदै दुई कार्यकाल झापा कांग्रेसको सभापति बनेका थिए । 

लामो अनुभव संगालेका थापाले जनप्रतिनिधि बनेको पहिलो पटकमै प्रदेशको मुख्यमन्त्री बन्ने सफलता पाएका थिए । तर, उनको सत्तायात्रा भने ज्यादै सकसपूर्ण बन्दै आएको छ । 

पार्टीको आन्तरिक मोर्चामा सधैं सफलता मात्रै हात पारेका उनले संसदीय र राजकीय मामिलामा भने सधैं असफलता बेहोर्दै आएका छन् ।

अहिले दलभित्रैबाट उठिरहेको असन्तोषको स्वरले पनि उनकै कार्यकौशल माथि प्रश्न गरिरहेको छ ।

View : 331

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved