विराटनगर । विवादास्पद जापान भ्रमण प्रकरणका कारण पद र पार्टीका जिम्मेवारीमुक्त बनेका कोशी प्रदेशका पूर्व मन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ ।
सरकारी प्रक्रिया पूरा नगरी जापान भ्रमणमा गएका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारीले नै आफूसँग जापान छिर्न लागेका व्यक्तिहरुबारे आफूहरुलाई सबैभन्दा पहिले जानकारी दिएको जापान सरकारले पत्र पठाएको छ । जापानले सो पत्र दिएको र मानव ओसारपसारमा उनको संलग्नता नदेखिएको ठहर गर्दै जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो ।
सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालका अनुसार अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो ।
अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
सरकारी वकिल कार्यालय काठमाडौंले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरूद्ध मुद्दा दर्ता भएको हो । दिवाकरबाबु, विष्णुप्रसाद र गोपाल भने फरार छन् ।
न्यायाधिवक्ता अर्यालका अनुसार जापानबाट तीन जना प्रतिवादीविरूद्ध पत्र प्राप्त भएको छ ।
जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए । उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।
राई, शेर्पा र देवकोटाविरूद्ध अध्यागमनले‘ ‘एक्सक्लुसन अर्डर पठाएको न्यायाधिवक्ता अर्यालले बताए ।
‘उहाँको संलग्नता देखिँदैन । उहाँले नै जापान पुगेर अध्यागमनलाई खबर गरेको देखिन्छ । जापानको ल मिनिस्टरले तीन जनालाई चाहि फिर्ता गरेको देखिन्छ । तीन जनाविरूद्ध एक्सक्लुसन अर्डर भनेर पठाएको छ। मन्त्री आफैले अनुरोध गरेर फिर्ता आएको देखिन्छ’ अर्यालले भने ।
त्यस्तै सांसद अधिकारीले जापान पुगेर आफू प्रयोग भएको थापा पाएपछि त्यहाँबाट नेपाल प्रहरीका डिआइजीहरूलाई मेसेज गरेको देखिएको अर्यालले बताए ।
कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले कात्तिक २१ गते पत्रकार सम्मेलन गरी मन्त्रीको पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि घटनाबारे बाहिरिएको थियो ।
अनुसन्धानकै क्रममा प्रहरीले उनलाई कात्तिक २५ गते विराटनगरबाट पक्राउ गरी काठमाडौं पुर्याइएको थियो । अधिकारीले भने आफुले अनुसन्धानमा सहयोग गर्न काठमाडौं गएको दाबी गरेका थिए ।
View : 31
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved