Biratnagar, Morang, Nepal
३० भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

गोमेन्द्र कलेजद्वारा स्नातकाेत्तरका विद्यार्थीलाई स्वागत तथा बिदाइ, जर्नल र पुस्तक विमोचन

उद्‌घोष संवाददाता
२९ भदौ २०८३, सोमवार

Advertisement

विर्तामोड ।  गोमेन्द्र कलेज विर्तामाेडले  एक कार्यक्रमकाे  आयाेजन गरी  एमबीए र एमसीएका नयाँ विद्यार्थीलाई स्वागत तथा अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गरेको छ।

सोही अवसरमा कलेजले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुका साथै अनुसन्धान जर्नल ‘जीजेएमसी’ र ‘बिजनेस प्लान’ नामक पुस्तक विमोचन गरेको छ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका एमफिल तथा पीएचडी कार्यक्रम निर्देशक प्राडा जीवनकुमार ढकाल, कलेजका प्रमुख डा. रुपकप्रसाद खनाल लगायतले दुई पुस्तकको संयुक्त रुपमा विमोचन गरेका थिए।

 

कलेजले पहिलोपटक प्रकाशन गरेको अनुसन्धान जर्नल ‘जीजेएमसी’ को संयोजन नीलम संग्रौलाले गरेका थिए भने व्यावसायिक योजना विद्यार्थीहरुद्वारा सम्पादित पुस्तक हो।

 

एमबीएतर्फ ३.८९ सीजीपीए प्राप्त गरी उत्कृष्ट नतिजा हासिल गरेकी छात्रा प्रिया गिरीलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो।

 

भोटेकोशीमा आएको हिमबाढीका कारण आएको विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलीसहित सुरु भएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।

 

साे अवसरमा स्नातकाेत्तर तह अन्तर्गत  एमबीए  तथा एमसीए अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गरिएको थियो भने  नयाँ भर्ना भएका विद्यार्थीलाई अनुशासनको शपथ ग्रहणसमेत गराइएको थियो।

कार्यक्रममा प्राडा जीवनकुमार ढकालले विद्यार्थीहरुले सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सके पढाइको वास्तविक औचित्य पूरा हुने बताए।

 

कलेजका प्रमुख डा. रुपकप्रसाद खनालले विद्यार्थीहरूलाई व्यावसायिक दक्षता, अनुसन्धान र अनुशासनलाई सँगसँगै अघि बढाउन प्रेरित गरेका थिए।

 कार्यक्रममा कलेजका एमबीए कार्यक्रम संयोजक विमल राजवंशीले स्वागत मन्तव्य राखेका थिए भने सप्तकोशी बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलका   जर्नल प्रकाशन संयोजक नीलम संग्रौला,  विद्यार्थीका तर्फबाट  एमबीएबाट  रोशन सुवेदी र  अमृता चौधरी   तथा एमसीएबाट नवीन प्रसाईंले मन्तव्य राखेका थिए । 

साे अवसरमा  एनएमबी बैंकका शाखा प्रबन्धक कुशल कटवाल, एमिटी एजुकेसन फाउन्डेसनका प्राचार्य   आरएस. ढकाल र अनन्त परोपकार सहकारीका सीईओ गोपी अधिकारीलगायत  व्यक्तित्वहरूको समेत  सहभागिता थियो।

२०५३ सालमा बीबीए र बीसीएबाट पढाइ सुरु गरेकाे गोमेन्द्र कलेजले २०७९ सालदेखि एमबीए र एमसीएको पठनपाठन सुरु गरेको हो।

कोशी प्रदेशमा एमसीए अध्ययन हुने गोमेन्द्र कलेज विराटनगरको इन्जिनियरिङ कलेजपछिको एकमात्र शिक्षण संस्था हो।

पूर्वका  कलेजमा सूचना प्रविधि (आईटी) एवम् बीसीए तथा एमसीए अध्यापनमा  गाेमेन्द्र  कलेजबाट उत्तीर्ण जनशक्ति  अधिकांश   संलग्न  छन्।

 

View : 234

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved