Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

विवादमा कलाकार, बहिष्कारको माग

उद्‌घोष संवाददाता
९ कार्तिक २०८२, आइतवार

विराटनगर । जेनजी आन्दोलनमा भदौ २४ गते सिंहदरवार र संसद भवन जस्ता देशका महत्वपूर्ण संरचनाहरू जलाउने क्रममा कलाकारहरूको उपस्थिति अहिले चर्चाको विषय बनेको छ । उनीहरू आलोचित बनेका छन् ।
कतिपयले आगजनी गर्नेहरूसँगै देखिएका कलाकारलाई बहिष्कार गर्न सामाजिक सञ्जालहरूमा लेखेका छन् । 

राजु पहरी दर्शन नामका ब्यक्तिले दीपकराज गिरी, निश्चल बस्नेतलगायतका चलचित्र  बहिष्कार गर्न अभियान चलाउनु पर्ने फेसबुकमार्फत आह्वान गरेका छन् । 

आगजनीका क्रममा यी चर्चित कलाकारहरूको उपस्थितिको भिडियो अहिले सामाजिक सञ्चालमा भाइरल बनेका छन् ।

फेसबुक प्रयोगकर्ता रमेश लामाले कलाकार बस्नेतको फोटो हालेर ‘कलाकार श्रीमान श्रीमतीनै बारबरा फाउण्डेशनको सदस्य’ भनेर लेखेका छन् । उत्तम पौडेलले बस्नेतलाई कि कलाकार बन कि नेता दुबै नबन भनेर सुझाव दिएका छन् । 

नेता बन्ने भए चुनाव लड्न कास्की आऊ भन्दै पौडेलले सुझाव दिएका छन् । सेलिबे्रटी तथा क्याप्टेन विजय लामाले पनि अरूको घर जल्दा खुसियाली मनाएको भन्दै प्रकाश तिमल्सिनाले फोटोहरू सार्वजनिक गरेका छन् ।

फेसबुकमार्फत लेखक राई नामका ब्यक्तिले गजेडी भए पनि स्पष्ट वक्ता भएकाले दीपकराज गिरीलाई सम्मान गर्दै आएको र भदौ २४ को आन्दोलनमा उनको भूमिका शंकास्पद देखिएको दाबी गरेका छन् । फिल्मको सुटिङमा कागजको महल जलाएझै देश जलाउन सहायक निदेशक दीपकराज गिरी र निश्चल बस्नेतहरू थिएनन् ? भन्ने राईले प्रश्न गरेका छन् ।

राई लेख्छन्– दीपक गिरीले म आन्दोलन हेर्न मात्र गएको हो भन्दै आफूले कुनै अपराध नगरेको भन्ने भ्रम छर्न खोजेजस्तो स्टाटस लेखेको देखियो । 

तर दीपक निश्चल र घण्टेहरू बानेश्वर पुगेपछि मात्रै संसद भवनमा आगजनी भएको कयौ भिडियोहरू प्रमाणका रूपमा हजारौ सामाजिक सञ्जाल प्रयोगकर्ताले संकलन गरेर राखेका छन् । 

कि त्यो भिडियो नै एआईले बनाएको हो भनेर प्रमाणित गर्न पर्यो हैन भने राष्ट्रको सम्पत्ती जलाएकै हौं भन्दै आत्मसमर्पण गर्न पर्यो एउटा देशभक्तले यही कुराको अपेक्षा गर्दछ ।

बिश्वका कुनै पनि देशमा कलाकारले देश चलाएका छैनन् एउटा युक्रेनमा जेलेणन्स्की आए तर आज युक्रेनको हालत के छ त्यो भनिरहन नपर्ला भन्दै राईले काठमाडांै नगरकै हालत हेरे पनि थाह लाग्छ, काठमाडौं बालेन आउनु भन्दा पहिला के थियो र अहिले के कस्तो छ ? भनेका छन् । 

अहिले नत कुनै काठमाडांैवासीका मुहारमा मुस्कान छ नत कुनै ब्यापारीको मुहारमा रौनक छ । सहीमा मानेमा भन्नुपर्दा काठमाडांैमा बस्नेहरू बाध्यताले बसिरहेका छन् रहरले हैन । 

संगीतकार क्षेत्रप्रताप अधिकारीका छोरा पूर्व खेलाडी तथा टेलिभिजनका प्रस्तोता अमनप्रताप अधिकारीले देशका महत्वपूर्ण संरचना जलाउन युवालाई प्रेरित गरेको भिडियो सार्वजनिक भएपछि उनी पनि आलोचित छन् । 

सामाजिक सञ्जालमा धेरै ब्यक्तिहरूले अधिकारीले सार्वजनिक गरेको भिडियोका बिरूद्धमा अभिव्यक्ति दिदै तत्काल कारवाही गर्न माग गरेका छन् । 

अधिकारीले आगजनी हुँदै गर्दा अत्यन्तै फोहरी शब्द प्रयोग गरेर भिडियो बनाएका थिए ।

View : 323

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved