Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

एक हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षरसहित कांग्रेस महासमितिमा हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

उद्घोष सम्वाददाता
१० फागुन २०८०, बिहिवार

ललितपुर, १० फागुन । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा एक हजार ६३ जना महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर भएको धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ । 
फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा महासमिति सदस्यहरुले हस्ताक्षर अभियान चलाएका थिए । 

अभियानका संयोजक कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारी नेतृत्वको हिन्दु राष्ट्र महाअभियानले महासमिति बैठक अगावै भेला आयोजना गरेर उक्त प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको थियो । उनको प्रस्तावको आवश्यकता र औचित्यबारे महासमिति बैठकमा जानकारी गराई पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव बुझाइएको जनाइएको छ ।

विसं २०७१ कात्तिक २० गते स्थापना भएको उक्त महाअभियानले नेपाली कांग्रेसभित्रका विभिन्न बैठकहरुमा हिन्दू राष्ट्रको विषय गहन ढङ्गले उठाउँदै आएको छ । यसअघि नवलपरासीको त्रिवेणीधाममा सम्पन्न पार्टीको महासमिति बैठक र काठमाडौँमा भएको बैठकमा समेत हिन्दू राष्ट्रको मुद्दा उठेको थियो ।

कांग्रेसका पूर्वमन्त्री भण्डारीको संयोजकत्वको उक्त महाअभियानले ९४ प्रतिशत ओमकार परिवारभित्र रहेको हिन्दूधर्मको मुद्दालाई उठाउँदै आएको छ ।

उक्त महाअभियानको सहसंयोजकमा पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र महासमिति सदस्य लोकेश ढकाल तथा महासचिवमा केन्द्रीय सदस्यद्धय भीम पराजुली र मुक्ताकुमारी यादव रहेका छन् । पराजुली विराटनगरका हुन् ।

महाअभियानले पूर्वमन्त्री लक्ष्मण घिमिरेसहितको १५ सदस्यीय सल्लाहकार समितिसमेत निर्माण गरिएको जनाइएको छ ।

बिहिबार महासमिति बैठकको अन्तिम दिनसम्म एक हजार ६१ जना महासमिति सदस्यले हस्ताक्षर गरेको महाअभियानका सहसंयोजक लोकेश ढकालले जानकारी दिए ।

महासमिति बैठकमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बोल्ने महासमिति सदस्यले हिन्दू राज्यको मुद्दालाई प्राथमिकतासाथ उठाएका थिए । 

“धर्मको नाममा द्धन्द्ध निम्त्याउने आशय महाअभियानको होइन, आम जनताको भावनलाई बुलन्द बनाउनका लागि महाअभियान सञ्चालन गरेका हौँ”, सहसंयोजक ढकालले भने ।

बहुमत महासमितिको भावनालाई कुल्चेर कांग्रेस अगाडि बढ्न नसक्ने ढकालले बताए । वैदिक सनातन हिन्दू धर्मले सिर्जना गरेका मूल्य, मान्यता र आदर्श साझा पहिचान भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने ढकालको भनाइ छ ।

View : 250

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved