Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

उद्घोष सम्वाददाता
३१ साउन २०८१, बिहिवार

काठमाडौँ, ३१ साउन । काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७८औं स्वतन्त्रता दिवस मनाइएको छ ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी  समारोहको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो । 

राष्ट्रपतिको उक्त सन्देशमा विगत ७७ वर्षमा विभिन्न क्षेत्रमा भएको प्रगतिमाथि प्रकाश पारिएको र भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धान्जली अर्पण गरिएको थियो । 

कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई  पाँच करोड ५० लाख र कम्बल वितरण गरी सम्मान गरेका थिए ।

साथै भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवम् एक सय सात मृतक सदस्यका निकटतम नातेदारका लागि  १२ करोड ५५ लाख भुक्तानी दिइएको छ  ।

सो भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रमअन्तर्गत सन्  २०२४, का लागि ‘डेथ–इन–सर्भिस’, ‘एक्सटेन्डेड इन्स्योरेन्स’ र एजीआई परिपक्वता भुक्तानीलगायतका लाभहरु समावेश छन् ।

दूतावासले नेपालका पाँच प्रदेशका २१ शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ ।

यस पहलले प्राप्त अनुरोधको प्रत्युत्तरमा दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको छ ।

दूतावासका अधिकारी तथा उनीहरुका परिवारका अतिरिक्त नेपालमा रहेका भारतीय समुदायका सदस्य तथा शुभेच्छुकहरूको भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागिता थियो

सो अवसरमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत र नृत्य प्रस्तुत गरेका थिए । रासस

View : 125

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved