विराटनगर । सनातन धर्म संस्कृतिका विभिन्न पाटाहरूको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेकपा एमाले विराटनगर महानगरपालिका–४ वडा कमिटीले शनिबार आयोजना गरेको वडास्तरीय भजनकीर्तन प्रतियोगिता जामुनगाछीस्थित सिद्धेश्वर भजनकीर्तन समूहले जितेको छ ।
तेस्रो संस्करणको प्रतियोगितामा प्रथम भएको सिद्धेश्वर समूहले नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको हो । आदर्शटोलस्थित अच्युतम कीर्तन समूह दोस्रो भएको छ । उक्त समूहले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ ।
त्यस्तै, ढाटस्थित राधाकृष्ण भजन टोली तेस्रो हुँदै ७ हजार रुपैयाँ र इक्राही भजन समूह चौथो हुँदै तीन हजार रुपैयाँ प्राप्त गरेको हो ।
प्रतियोगिताका विजेता भजनकीर्तन समूहहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य ऋषिकेश पोखरेल, नेता विनोद ढकाल, मोरङ जिल्ला सचिव सोमराज थापा, महानगर कमिटी अध्यक्ष बलराम गिरी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा महानगर कमिटीका सचिव विज्ञान शर्मा, ४ नम्बर वडा कमिटीका इन्चार्ज नवराज नेपाल लगायत एमाले नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा सहभागिता जनाएका सवै भजनकीर्तन समूहलाई जनही एक हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको एमाले विराटनगर–४ का अध्यक्ष नवराज काफ्लेले बताए । उनले प्रतियोगितामा सहभागी हुन वडा नम्बर ४ भित्रका भजनकीर्तन समूहलाई नाम दर्ताका लागि खुला आह्वान गरिएकोमा ३९ वटा समूहले नाम दर्ता गराएका थिए ।
काफ्लेका अनुसार विगतदेखि नै वडा कमिटीले वडाबासीहरूको भावनाअनुसार साँस्कृतिक कार्यक्रम र रचनात्मक क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ ।
View : 25
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved