विराटनगर । आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी काठमाण्डौले जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राती सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रिला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।
उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपबिजेता बनेको घरेलु टिम सांग्रिलाले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।
विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर मच्छिन्द्रले इतिहास रचेको छ । यो सिजनमा ७ वटा गोल्डकपमा भाग लिएको मध्ये सहिद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रले तीन वटा जित्न सफल भएको छ । यसअघि केपी ओली कप र वाग्मती गोल्डकपको उपाधि जितिसकेको छ ।
मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरुङ र युसुप थपलियाले गोल गरे । उनीहरूले दुवै गोल अतिरिक्त समयमा गरेका हुन् ।
निर्धारित ९० मिनेटको समयमा गोलरहित खेल बराबारी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा सांग्रिलाका गोलकिपर विशाल सुनारको कमजोरीको फाइदा उठाउँदै ११३ औं मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
युसुप थपलियाले प्रहार गरेको कर्नर सांग्रिलाका गोलकिपर विशाल सुनारले पन्च गरेर बल किलियर गर्न सकेनन् । त्यसपछि बाउन्स भएको बललाई छिरिङले हेड मार्फत सानदार गोल गरी अग्रता दिलाए ।
मच्छिन्द्रले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै ११९ औं मिनेटमा युसुप थपलियाले लामो दूरीबाट प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो ।
प्लेयर अफ द म्याच मच्छिन्द्रका लकेन लिम्बू घोषित भए । उनले ११ हजार पाए ।
बेस्ट गोलकिपर मच्छिन्द्रका विशाल श्रेष्ठ, बेस्ट कोच मच्छिन्द्रकै सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफिन विनोङ घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडी सांग्रिलाका महेन्द्र कार्की घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाए ।
फाइनलमा सांग्रिलाले २५ औं मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहार मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।
३५ औं मिनेटमा सांग्रिलाका सुशील राईले गोल गर्ने अवसर खेर फाले । ४२ औं मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी स्टेफिन विनोङले वान भर्सेज वानको प्रहारलाई गोलमा परिणत गर्न चुके । उनले गरेको प्रहार पोस्ट माथिबाट बल बारियो । ४३ औं मिनेटमा मच्छिन्द्रका आयुष घलानले पेनाल्टी एरियाबाट गरेको प्रहार पनि गोल हुन सकेन । उनले गरेको कडा प्रहार बाहिरिँदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो । पहिलो हाफसम्म गोलरहित खेल बराबरीमा सकियो ।
५४ औं मिनेटमा सांग्रिलाका विवेक पौडेलले मध्यभाग बाट निकालेको पासलाई सुशील राईले डिबक्स भित्रबाट गरेको प्रहार बारमाथिबाट बाहिरियो ।
८३ औं मिनेटमा स्टेफिन विनोङले डिबक्स भित्रबाट गरेको प्रहार सांग्रिलाका गोलकिपर विशाल सुनारले विफल पारिदिएका थिए ।
हारपछि सांग्रिला मोरङका प्रशिक्षक रानु राना मगरले खेलाडी चोटग्रस्त हुँदा अन्तिम समयमा गोल आत्मसाथ गर्न पुगेको बताए ।
‘कप्तान अभिषेक लिम्बू बाहिरिएपछि डिफेन्स लाइन फितलो भयो’ उनले भने, ‘जसको कारणले पराजय भोग्नुपर्यो ।’
दाहिने खुट्टामा चोटग्रस्त बनेका सांग्रिलाका कप्तान अभिषेक लिम्बुले भने, ‘मच्छिन्द्र बलियो टिम हो, हामीले सक्दो प्रयास गर्दागर्दै पनि हार खेप्नुपर्यो ।’
जित हात पारेपछि मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले निर्धारित समयमा गोल हुन नसकेपछि खेल जितेको बताए । ‘यसमा हामी खुसी रहेका छौं’ उनले भने ।
मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले घरेलु टोलीसँग खेल्न पहिलाबाटै मानसिक रुपमा तयार रहेको बताए ।
‘दबाबको बावजुद पहिलो पटक विराट गोल्डकपको उपाधि जित्नु हाम्रो गौरव हो,’ उनले भने, ‘यो सँगै हामीले इतिहास पनि रचेका छौं ।’
विजेता हुने खेलाडीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाही लगायतले पुरस्कार वितरण गरेका थिए ।
View : 592
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved