विराटनगर । जोखिममा रहेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लंघन र हिंसा पीडितलाई सहयोग गर्ने उद्देश्यका साथ मानव अधिकार सहायता कक्षको पुनर्गठन गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशको आयोजनामा बिहीबार मानव अधिकार सहायता कक्षको पुनर्ताजगी बैठकले सहायता कक्षको पुनर्गठन गरेको हो ।
सहायता कक्षको सचिवालय इन्सेक कार्यालय नै रहेको छ । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालयले भने पर्यवेक्षण गर्ने जनाइएको छ ।
सहायता कक्षमा नेपाल पत्रकार महासंघ, गैसस महासंघ, मानव अधिकार रक्षक सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, अपाङ्ग महासंघ, मानव अधिकारका लागि एकल महिला, ज्येष्ठ नागरिक महासंघ, उच्च अदालत बार एशोसिएसनले संस्थागत प्रतिनिधित्व गर्नेछन् ।
मानव अधिकार सहायता कक्षको प्रभावकारिता बढाउन सबै मानव अधिकार रक्षकहरूको सहयोग र चासोको आवश्यकता रहेको इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले बताए ।
उनले विभिन्न हिंसामा परेका गरिब विपन्न वर्गका पीडित र जोखिममा परेका मानव अधिकार रक्षकलाई सहायता कक्षमार्फत न्याय प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले कानुनी र आर्थिक सहयोग प्रदान गर्दै आइरहेको पनि जानकारी दिए ।
साथै, इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत कोशी प्रदेशमा विभिन्न प्रकारका हिंसा पीडित महिला र मानव अधिकार रक्षक गरी सात जनालाई सहयोग गरिएको पनि बताए ।
सहायता कक्षमार्फत प्रदान गरिने सहयोगले अदालतमा लाग्ने दस्तुर, उपचार र यातायात खर्चमा पीडितलाई सहयोग पुग्ने गरेको जनाइएको छ ।
View : 302
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved