Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

नयाँ सत्ता समीकरणको कसरतमा शेखर कोइराला

‘ओलीलाई प्रधानमन्त्रीका रुपमा लामो समय स्वीकार्न सकिन्न भन्ने कुरामा शेखर दाइ प्रष्ट हुनुन्छ’, कोइराला निकट एक नेताले भने, ‘त्यसैले कांग्रेसले सरकारको नेतृत्व गर्नपर्छ भन्ने अभियानमा उहाँ सक्रिय हुनुन्छ ।’
उद्‌घोष संवाददाता
४ साउन २०८२, आइतवार

विराटनगर । नेपाली कांग्रेका नेता डा शेखर कोइराला पछिल्लो समय ती विपक्षी नेताहरूसँग धमाधम भेटिरहेका छन्, जो प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्द ‘फायर’ खोलिरहेका छन् । 

सदनमा बोल्दा पनि सरकारको गुणदोषबारे चर्चा गर्नुभन्दा प्रधानमन्त्रीको व्यक्तिगत आलोचनामा रमाइरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालदेखि ओलीलाई एमालेभित्र चुनौती दिन खोजीरहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसम्मलाई भेटेर कोइरालाले राजनीतिक छलफल गरिसकेका छन् । 

शेखर निकट नेताहरू विपक्षी नेताहरूसँगको भेटलाई अरू तीव्र पार्ने बताइरहेका छन् । 

कांग्रेस संसदीय दलभित्रै अल्पमतमा रहेका र पार्टी केन्द्रीय समितिमा पनि उस्तै कमजोर अवस्थामा रहेका शेखरको यो म्याराथन शैलीको भेटघाटको मुल ध्येय के हो ? के उनी फेरि सत्ता समीकरण फेरबदलको कसरतमा लागेका हुन् ? कोइराला आफैले यसबारे केही बोलेका छैनन् ।

त्यसो त उनी आफैले अहिलेसम्म पार्टीभित्रैको अनुशासनको कार्वाहीबारे पनि बोलेका छैनन् । त्यसैले राजनीतिक भेटघाटबारे उनले औपचारिकताबाहेक अरू कुरा खोलेका छैनन् । तर, उनी निकट नेताहरूका अनुसार कोइराला कसैगरी कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने भन्ने लाइनमा अडिग छन् ।  

‘ओलीलाई प्रधानमन्त्रीका रूपमा लामो समय स्वीकार्न सकिन्न भन्ने कुरामा शेखर दाइ प्रष्ट हुनुन्छ’, कोइराला निकट एक नेताले भने, ‘त्यसैले कांग्रेसले सरकारको नेतृत्व गर्नपर्छ भन्ने अभियानमा उहाँ सक्रिय हुनुन्छ ।’
ती नेताले भने ‘जसरी शेखरले आफ्नो कुरा यसअघि पनि राख्दै आएका छन् ।’ 

उनले कांग्रेस केन्द्रीय समिति बैठकमै आफूले कांग्रेस एमाले मिलेर सरकार बनाउन भनेको तर प्रधानमन्त्री ओलीलाई दिन नभनेको भन्दै सभापति शेरबहादुर देउवालाई सोधेका थिए, प्रधानमन्त्री किन एमालेलाई दिएको ? 

शेखर तिनै नेता हुन्, जो कांग्रेस र एमाले मिलेर सत्ता गठबन्धन गर्नुपर्ने पक्षमा उभिएका पार्टीका पहिलो नेता थिए । तर, केही समययता शेखर ओली नेतृत्वको सरकारसँग सन्तुष्ट छैनन् । 

एमालेसँग मिलेर होस् वा अरू कसैसँग, ओली सत्ताबाट हटेर कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने उहाँको प्रष्ट उद्देश्य छ, शेखर निकट कोशीका एक नेताले भने  उहाँको दौडधुपको लक्ष्य त्यही हो । 

यसको तयारी शेखरले केही समय अघि नै थालिसकेका थिए । यसका लागि उनले दिनेश कोइराला र केदार कार्की लगायतका निकट नेताहरूलाई परिचालन गरेका छन् । 

यही क्रममा दुई साता अघि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । 

प्रचण्डलाई भेट्न एक्लै खुमलटार पुगेका कार्कीले प्रचण्डसँग झन्डै एक घण्टा कुराकानी गरेका थिए । 

त्यहीबेला प्रचण्डलाई भेट्न पुगेका माओवादी राष्ट्रियसभा सदस्यको टोलीलाई अर्को कोठामा पर्खाएर प्रचण्डले कार्कीलाई समय दिएका थिए ।

‘हामी तीन जना सांसदहरू अध्यक्षलाई भेट्न खुमलटार पुगेका थियौं, हामी पुग्दै गर्दा कोशीका पूर्व मुख्यमन्त्री कार्की भित्र छिर्दै थिए’, माओवादीका ती सासदले भने, ‘४५ मिनेटभन्दा बढी समयपछि उनी निस्केपछि हामी छिरेका थियौं ।’

माओवादीका ती सांसदले दिएको जानकारीपछि उद्घोषले कांग्रेस नेता कार्कीलाई सोधेको थियो, प्रचण्डलाई भेटेर लामो कुराकानी गर्नु भएछ । के विषयमा कुराकानी भयो ?

नेता कार्कीले प्रचण्डलाई भेटेको विषय स्वीकार गरे पनि उनीसँग भएको कुराकानीबारे खुलाउन चाहेनन् ।  ‘देशको प्रमुख विपक्षी दलको नेता, पूर्व प्रधानमन्त्रीलाई भेट गर्न गएको हुँ’ कार्कीले भने, ‘सामान्य राजनीतिक कुराकानी भयो ।’

 नेता शेखर कोइरालाका विश्वासपात्र कार्कीलाई उद्घोषले थप सोधेको थियो, तपाईंको नेता शेखर कोइराला अहिले फेरि नयाँ समीकरणको कसरतमा हुनुन्छ भन्ने चर्चा छ । उहाँको सन्देश लिएर जानुभएको हो ?

जवाफमा कार्कीले भने, ‘राजनीति गतिशील हुन्छ । सम्भावना अनेकौं हुन सक्छन् ।’ उनले घुमाउरो जवाफ मात्रै दिए ।

कार्कीले विस्तृत कुरा खुलाउन नचाहे पनि शेखरले एमालेभित्रको असन्तुष्ट पक्ष र माओवादी अध्यक्षलाई भेटेको प्रसङ्गले राजनीतिक सन्देश भने धेरैथरी गएको शेखर निकट नेता गुरुराज घिमिरे बताउँछन् ।

‘अहिलेको सरकारको कार्यशैली, क्षमता र परिणामले शेखर दाइ र हामी पटक्कै सन्तुष्ट छैनौं ।

प्रचण्डले पनि सरकारको कडा विरोध गरिरहनु भएको छ’ उनले भने, ‘यस्तो बेलामा दुई नेताको भेटले कतै अर्को प्रयास भैरहेको हो कि भन्ने देखाउँछ । तर, अहिले नै त्यति पर गैसकेको भन्ने मलाई लाग्दैन । तर, कांग्रेस नेतृत्वमै सरकार बन्नुपर्छ भन्ने कुरा शेखर दाइले लुकाउनु भएको छैन ।’

कोइरालाको राजनीतिक भेटघाटले एमालेभित्रै पनि शंका जन्माइदिएको छ ।

जारी पोलिट्ब्युरो बैठकमा कांग्रेस नेता शेखर कोइरालाको सक्रियतामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति विद्या भण्डारी मिलेर सत्ता समीकरण खोजेको विषय उठेको छ ।

बैठकमा पोलिटब्युरो सदस्य महेश बस्नेतले यो विषय उठाएका हुन् । उनले भने, ‘अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण बनाउन खोज्दै छन् भनेर अमरेशकुमार सिंहले भन्ने, चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सल्बलिएका छन्, घुस्न दिनुहुन्न । अन्तिम निर्णय हाम्रो पार्टीको संगठन भित्रैबाट मात्रै हुन्छ ।’

शेखरसँग प्रचण्ड निवास पुगेका स्वतन्त्र सांसद सिंहले नयाँ समीकरणको तयारी भइरहेको दाबी गरेका थिए । 

प्रचण्ड, विद्या भण्डारी, माधव नेपाललगायतको सहयोगमा यो सरकार ढाले शेखर प्रधानमन्त्री बन्ने तयारी रहेको दाबी गरेका थिए ।

View : 639

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved