अस्पताल चोकस्थित श्री अस्पताल । तस्वीरः उद्घोष
विराटनगर । उपचारका लागि बिरामीले पहिले पैसा बुझाउनु पर्ने बाध्यता रहेको अवस्थामा विराटनगरको एक अस्पतालले गरिबलाई अस्पतालबाट निस्कने बेलामा मात्रै पैसा लिने भएको छ ।
स्त्री तथा प्रसूति सेवामा नाम कहलिएको अस्पताल चोकस्थित श्री हस्पिटलले उपचारलाई प्राथमिकता दिन पहिले रकम नभई पहिले सेवालाई प्राथमिकता दिइएको जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका ब्यवस्थापक सुदिप खत्रीले नयाँ व्यवस्थापनले बिरामीलाई नयाँ सेवाहरू दिन थालेको जानकारी दिए ।
‘अस्पतालले पहिले उपचार दिन्छ, डिस्चार्ज हुने बेलामा पैसा लिन्छ’ खत्रीले भने–‘बिरामी आपतमा अस्पताल आएका हुन्छन्, पैसा नबोकी पनि आएका हुन सक्छन् ।’
अस्पतालको सञ्चालकमा ६ जना नयाँ सदस्य भित्रिएकाले बिरामीलाई प्रभावकारी र सस्तोमा सेवाका लागि छुट दिन थालिएको छ । अस्पतालले विभिन्न ठाउँमा सञ्चालन गर्ने शिविरबाट आएका बिरामीलाई प्रयोगशालामा ५० प्रतिशत छुट दिन थालेको छ ।
गएको हरितालिका तीजदेखि चाडबाडका बेला पनि बिरामीलाई शुल्कमा छुट दिन थालिएको छ । २५ बेडको अस्पतालमा पाँच बेड भेन्टिलेटर र आधुनिक आईसीयु रहेको छ ।
अस्पतालले न्यूरो स्पाइनल बाहेकका सबै शल्यक्रिया गरिने दाबी गरेको छ । निजी लगानीका ठूला अस्पताल धेरै भएको विराटनगरमा सानो भएपनि श्री अस्पतालबाट बढी सेवा दिन सकिने सञ्चालकको दाबी छ । बिरामीलाई गाउँगाउँमा गएर शिविर मार्फत सेवा दिने बताइएको छ ।
फिजिसियनमा मो. नौसाद अन्सारी, बालरोगमा रूपेश सिंह, सर्जरीमा हरेराम माझी र अरबिन्द यादव, नाक, कान, घाँटीमा रौनक दाहाल, स्त्री तथा प्रसूतिमा कविता यादव विषेशज्ञ चिकित्सक रहेका छन् ।
आवश्यकताअनुसार विशेषज्ञ चिकित्सक थप गर्दै जाने बताइएको छ । अस्पतालमा खत्री, रामकुमार पण्डित, सुनिल राय, सुरेन्द्रकुमार मेहता, मो. यासिम, मो. जाबेद अन्सारी नयाँ सञ्चालकका रूपमा थपिएका छन् ।
चार करोड रूपैयाँको लागतमा भाडाको घरमा सञ्चालित अस्पतालमा नयाँ सञ्चालकले एक करोड रूपैयाँ थप लगानी गरेका छन् ।
View : 81
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved