विराटनगर । पूर्व राष्ट्रपति डा रामवरण यादवले अहिलेको संविधान लोकतान्त्रिक र जनतामैत्री भएकाले यसलाई संशोधन गरेर भए पनि लामो समयसम्म निरन्तरता दिनुपर्ने बताएका छन् ।
विराटनगरमा शनिवार पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ८ औं स्मृति दिवसका अवसरमा आयोजना गरिएको संविधान कार्यान्वयनका चुनौती र आजको राजनीति विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा यादवले अमेरिका र भारतको संविधान समेत संशोधन भएर जारी भइरहेको बेला नेपालको संविधानमा पनि आवश्यक संशोधन गर्न सकिने बताए ।
उनले राजनीतिक दलका नेताहरुकै कारण संविधान कार्यान्वयनमा चुनौती आएको आरोप लगाए । उनले धेरै लामो समयपछि प्राप्त गर्न सकेको संविधानको रक्षा गर्ने जिम्मेवारी राजनीतिक दलका नेताहरुको काँधमा नै रहेको धारणा राखे ।
सुशील कोइराला फाउण्डेशनले आयोजना गरेको सो कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सभामुख दमननाथ ढुंगाना, राजनीतिक विश्लेषक कृष्ण हाछेथू, नेताहरु दिलेन्द्रप्रसाद बडू, रोमी गौचन थकालीले संविधान कार्यान्वयन नभएका कारण मुलुकमा असन्तुष्टि बढेकाले आवश्यक संशोधन गरेर भए पनि जनताको पक्षमा संविधान भएको अनुभूति दिलाउनुपर्ने बताए ।
उनीहरुले नेपाली कांग्रेसले नेतृत्व लिएर भए पनि संविधान कार्यान्वयनमा लैजानुपर्ने धारणा राखे ।
View : 504
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved