Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले मोरङको कारवाही प्रकरण

मुख्यमन्त्री कार्कीले दोहोरो भूमिका खेलेको आरोप

टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा बाबुराम कार्कीले पार्टी जिल्ला कमिटी इञ्चार्ज तथा कोशी प्रदेशका मुख्यमन्त्रीले पार्टी निर्णयलाई स्वीकार गर्नुबाहेकको विकल्प छैन भनेपछि कारवाही गरिएको बताएका छन् ।
उद्घोष सम्वाददाता
६ असार २०८१, बिहिवार

पार्टीले कारवाहीको पत्र थमाएपछि पार्टी कार्यालमै पत्रकार सम्मेलन गर्दै सागर थापालगायत ।

विराटनगर, ६ असार ।
नेकपा एमाले विराटनगर महानगरपालिका कमिटी अध्यक्ष सागर थापालगायतमाथि गरिएको कारवाही प्रकरणमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोहोरो भूमिका खेलेको आरोप एमाले कार्यकर्ताले लगाएका छन् । मुख्यमन्त्री कार्की एमाले मोरङका इञ्चार्ज हुन् । 

उनले थापामाथि गरिएको कारवाही आफूलाई थाहा नभएको बताउँदै आएका छन् । तर मुख्यमन्त्री कार्कीको प्रत्यक्ष संलग्नतामा थापामाथि कारवाही भएको एमाले महानगरस्तरीय कार्यकर्ताहरूको जिकिर छ । उनीहरूको आशंकालाई कारवाहीको पत्र थमाउने पार्टी जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्कीले पनि घुमाउरो पारामा पुष्टि गरेका छन् । 

एउटा स्थानीय टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा कार्कीले पार्टी जिल्ला कमिटी इञ्चार्ज तथा कोशी प्रदेशका मुख्यमन्त्रीले पार्टी निर्णयलाई स्वीकार गर्नुबाहेकको विकल्प छैन भनेपछि कारवाही गरिएको बताएका छन् । अझ अध्यक्ष कार्कीले थापालगायत तीन जनाको निलम्बनको प्रक्रिया जिल्ला कमिटी इञ्चार्ज तथा कोशी प्रदेशका मुख्यमन्त्रीले नै अगाडि बढाएको आशयको अभिव्यक्ति दिएका छन् ।

अध्यक्ष कार्कीले अन्तर्वार्ताका क्रममा आफूले उपल्लो तहका र सम्बन्धित तहका नेताहरूस“ग परामर्श गरेर कारवाहीको पत्र थमाएको उल्लेख गरेका छन् । उनले केही नेतासँग भने परामर्श गर्न छुटेको, नभ्याएको बताएका छन् । ‘ती छुटेका र नभ्याएका नेतामा पार्टीका जिल्ला कमिटी इञ्चार्ज पक्कै होइनन्’ एक एमाले कार्यकर्ताले भने, ‘छुटेका नभ्याएका नेता भनेका सागर थापालाई सहानुभूति राख्ने हुन् ।’ 

अध्यक्ष कार्कीले पार्टी जिल्ला कमिटीको १० औं पूर्ण बैठकमा मानगढ खानेपानी आयोजना उपभोक्ता समितिका सम्बन्धमा ३ सदस्यीय कार्यदल बनेको र सोही प्रतिवेदनका आधारमा पार्टीकै उपल्लो तहबाट कारवाहीको प्रक्रिया अगाडि बढाएको दाबी गरेका छन् । उनले कारवाहीको निर्णय कुनै एउटा खास स्थानमा भएको र आफूले सही छाप गरेर पत्रमात्रै थमाएको भन्ने ढंगले अभिव्यक्ति दिएका छन् । उनले कारवाहीमा चित्त नबुझे पार्टीकै विधि विधानबमोजिमका निकायमा पुनरावेदन गर्न आग्रह पनि गरेका छन् । 

अध्यक्ष कार्कीले गत जेठ ३१ गते नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापालाई  कारवाहीको पत्र थमाएका हुन् । कार्कीले थापालाई मानगढ खानेपानीको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लगाएर संगठित कमिटीको पदबाट हटाउने र पार्टी सदस्यतासमेतबाट निलम्वन गरिएको व्योहोरा उल्लेख भएको पत्र थमाएका थिए । 
सोही व्योहोराको पत्र महानगर कमिटीका उपसचिव नवराज नेपाल र मानगढ खानेपानीको अध्यक्षको उम्मेदवार बनेका वडा नं. ३ कमिटीका अध्यक्ष लालमणि भट्टराईलाई पनि थमाएका थिए । त्यस्तै जिल्ला कमिटी सदस्य मुकेश बुढाथोकीसहित सन्दीप पोखरेल र सुवास न्यौपानेलाई २४ घण्टे स्पष्टीकरण पत्र थमाएका थिए ।

एमाले मोरङ र विराटनगर महानगर कमिटीहरू अधिवेशनको तयारी रहेकै अवस्थामा उनीहरूमाथि कारवाहीको पत्र थमाइएको हो । कोशी प्रदेशका १४ वटा जिल्लाका सबैजसो जिल्ला कमिटीको अधिवेशन सम्पन्न भइसक्दा मोरङ र तेह्रथुम जिल्लामा भने अहिलेसम्म अधिवेशन हुन सकेको छैन । तेह्रथुममा केही सदस्यताको विषय देखाएर त्यहाँ अधिवेशन हुन सकेको छैन । 

सदस्यतालगायतका कुनै पनि प्रकारको विवाद नभएको मोरङ जिल्लामा भने किन अधिवेशन हुन सकेन कसैले जवाफ दिएका छैनन् । मोरङमा अधिवेशन हुन नसक्नुको मुख्य फ्याक्टरमा अहिले विनोद ढकाल भएको बुझिएको छ । कुनै बेला मोरङ जिल्ला कमिटीमा ढकालकै दबदबा थियो । 

तर पछिल्लो पटक पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको तितो सम्बन्धले ढकाललाई मोरङ जिल्लामा रक्षात्मक बनाएको छ । ढकाल तिनै व्यक्ति हुन् जसले कुनै बेला देशभरका जिल्ला कमिटीहरू तत्कालीन समयमा माधवकुमार नेपाल समूहको पकडमा हुँदा मोरङलाई ‘ओली किल्ला’का रुपमा जोगाएका थिए । 

अहिले ओलीका लागि तिनै किल्ला रक्षक ढकाल फाजिल दरबन्दीको जगेडा कार्यकर्ताजस्तै भएका छन् । एमालेका एक पुराना कार्यकर्ता अहिले पार्टी अध्यक्ष ओलीलाई धूप धुँवार गर्नेको कुनै कमी नभएको बताउँछन् । ‘संकटका बेलाको पुरानो र निरन्तरको सम्बन्ध भएकाले ढकालले ओलीसँग अलिक दंगाएर कुरा गर्न थाले,’ ढकालनिकट एक  कार्यकर्ताले भने, ‘तर अहिले ओेली दंगाउने होइन साष्टाङ्ग दण्डवत् गर्ने व्यक्ति मन पराउँछन् ।’ 

उनको भनाइअनुसार, ढकालका विरुद्ध पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भए नभएको कुरा लगाउने काम कोशी प्रदेशका केही स्थायी कमिटी, पोलिटब्युरो सदस्यबाट भएको छ । घमण्डी, अहंकारी, भनेको टेर्दैन, आफ्नै पाराले चल्छ भन्नेजस्ता कुरा लगाएर ढकाल र ओलीबीच फाटो ल्याउने काम भएको उनको आशंका छ । यस्तो कुरा लगाउने र फाटो ल्याउने कामको मुख्य भूमिका भने पार्टी अध्यक्ष केपी ओलीकै निर्वाचन क्षेत्रका स्थायी कमिटी सदस्यले गरेको उनको आरोप छ । 

View : 318

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved