Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

औषधि नदिएको निहुँमा स्वास्थ्यकर्मी कुट्ने पक्राउ

उद्घोष सम्वाददाता
४ भदौ २०८१, मङ्गलवार

संखुवासभा । मागेको बेला औषधि नदिएको आरोपमा संखुवासभामा स्थानीयबाट एक स्वास्थ्यकर्मी कुटिएका छन् । यसको चौतर्फीरुपमा बिरोध भएको छ ।

पाँचखल नगरपालिका–२ स्याबुनस्थित टाइगरचोकमा रहेको नागरिक आरोग्य केन्द्रमा औषधि लिन पुगेका स्थानीय ४० वर्षीय भीषण जिमीले केन्द्रमा कार्यरत बैद्यलाई आइतबार कुटपिट गरेको प्रहरीले जनाएको छ । संखुवासभा पाँचखपन नगरपालिका–२ स्याबुन बस्ने जिमीलाई इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

कार्यालय समयमा मादक पदार्थ सेवन गरेर गएका जिमीले ती स्वास्थ्यकर्मीलाई समयमै औषधि नदिएको आरोपमा कुटपिट गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार दिउँसो २ बजे कर्मचारीको खाजा खाने समयमा जिमी आरोग्य केन्द्रमा पुगेका थिए । खाजा खान बाहिर निस्किएका कर्मचारीलाई चोकमै गएर जिमीले कुटपिट गरेका हुन् । जिमीलाई सोमबार प्रहरीले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ बमोजिम कारवाही थालेको छ ।

कार्यालयबाट खाजा खाने छुट्टीको समयमा बाहिर निस्किएका स्वास्यकर्मी माथि यस किसिमको घटना हुनु निन्दनीय भएको नेपाल स्वास्थ्यकर्मी संघले जनाएको छ । संघका प्रदेश अध्यक्ष मुरारी आचार्य मादक पदार्थ सेवन गरेर ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने व्यक्तिलाई कडा भन्दा कडा कारवाही नगरे आफूहरू आन्दोलित हुने बताउँछन् ।

‘ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई रक्सी खाएर गएका ब्यक्तिले कुटपिट गर्छन्, हामी कसरी सुरक्षित महशुस गरेर जनतालाई सेवा दिन सक्छौं ?’ आचार्यले भने ।

यस किसिमका घटना दोहोरिए सेवा ठप्प पारेर आफूहरू आन्दोलनमा उत्रन बाध्य हुने उनले चेतावनी दिए । स्वास्थ्य सेवामा खटिएका कर्मचारीलाई स्थानीय सरकार र प्रशासनले सुरक्षा दिन सक्नुपर्ने आचार्यको माग छ ।

View : 256

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved