Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
प्रविधि

जेभियर्स स्कुलमा कोडिङ, रोबोटिक्स र एआई प्रविधि प्रदर्शनी

उद्घोष सम्वाददाता
२२ मंसिर २०८०, शुक्रवार

विराटनगर, २२ मंसिर : मोरङको बुढीगंगा गाउँपालिका– २ स्थित जेभियर्स इङ्लिस स्कुलले विद्यार्थीहरूलाई रोबोटिक प्रविधिमा आकर्षित गर्न प्रयोगात्मक प्रदर्शनी सम्पन्न गरेको छ । शुक्रबार आयोजित कोडिङ, रोबोटिक्स र एआई प्रविधिको प्रदर्शनीमा विद्यार्थीहरूले सहभागिता जनाएका छन् । उनीहरूले एक साताको प्रशिक्षणपश्चात प्राप्त गरेको ज्ञानलाई प्रयोग गर्दै विभिन्न प्रकारका उपयोगी उपकरणहरूको निर्माणको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रस्तुत गरे ।

प्रविधिमैत्री शिक्षामा जोड दिँदै आएको दूरशिक्षा एजुकेसन नेटवर्कसँगको सहकार्यमा काठमाडौं बाहिर पहिलो पटक यस्तो प्रदर्शनी आयोजना गरिएको विद्यालयका प्रिन्सिपल परेश पोखरेलले जानकारी दिए ।

उनले पहिलो चरणमा कक्षा सातदेखि ९ सम्मका विद्यार्थीहरूलाई सहभागी गराएर छोटो अवधिको तालिम प्रदान गरिएको र त्यसैका आधारमा विद्यार्थीहरूले सिर्जना गरेका उपकरणहरू प्रदर्शनी गरिएको बताए ।

दूरशिक्षा एजुकेसन नेटवर्कका प्रबन्ध निर्देशक कृष्ण पाण्डेले काठमाडौं महानगरपालिकामा हाल १६ वटा विद्यालयहरूमा रोबोटिक्स तालिम प्रदान गरेर प्रविधिमैत्री शिक्षाको सुरुवात गरिएको जानकारी दिए ।

उनले बालबालिकाहरूले मोबाइलमा खर्चिने समयलाई मोबाइल लगायतका उपकरणकै सहायताले विभिन्न प्रकारका कोडिङ, रोबोट निर्माण र आर्टिफिसिएल इन्टेलिजेन्स जडित उपकरण निर्माण गर्न सकिनेबारेमा सहजिकरण गर्दै आएको बताए । यसले विद्यार्थीहरूलाई प्रविधिको विकासमा रुचि जगाउने र प्रविधिको उपभोक्ता होइन, निर्माता बन्न सकिन्छ भन्ने सन्देश दिन मद्दत पुग्ने दाबी गरे ।

कार्यक्रमका प्रमुख अतिथि पुसेट कलेज विराटनगरका डेपुटी डिन मनोज हलुवाईले विराटनगरको भिडभाड भन्दा टाढा रहेको विद्यालयबाट प्रविधिको विकास र प्रदर्शनीको थालनी हुनु निकै सुखद् भएको बताए । उनले आधुनिक प्रविधिमैत्री शिक्षाको विकासमा यस्तो प्रयास निकै उपयोगी हुने बताए ।

शिक्षा क्षेत्रलाई अघि बढाउन प्रविधिको विकासमा लगानी बढाउँदै लैजानुपर्नेमा उनले जोड दिएका थिए ।

विद्यालय सञ्चालक सदस्य सरिता राना मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा बुढीगंगा गाउँपालिका वडा नं. २ का कार्यवाहक वडाध्यक्ष लोकनाथ खवास, दूरशिक्षा एजुकेसन नेटवर्क कोशी प्रदेश प्रमुख प्रनिश श्रेष्ठ लगायत विद्यार्थी र उनीहरूका अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।

जेभियर्स स्कुलमा कक्षा १ देखि १२ सम्म अध्ययन अध्यापन हुँदै आएको जनाइएको छ । प्रदर्शनीमा सहभागी आठवटा समुहमा रहेका विद्यार्थीहरूले आफूले निर्माण गरेको कोडिङ, रोबोटिक्स र आर्टिफिसिएल इन्टेलिजेन्समा आधारित भएर विकास गरेका उपकरणहरू प्रदर्शनी गरेका थिए ।

View : 95

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved