काठमाडौँ । सरकार र जेनजी आन्दोलनकारीबीच भएको औपचारिक सम्झौतापछिको नयाँ चरणमा नेपाल जेनजी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ । जागरण सभाको थालनी भने झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट सुरु हुने जनाइएको छ । यो क्षेत्र एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचन लड्ने क्षेत्र पनि हो ।
उक्त अभियानअन्तर्गत पहिलो जागरणसभा झापा क्षेत्र नं ५ बाट सुरु हुने जनाइएको छ । आइतबारदेखि झापाको दमकमा आयोजना गरिने कार्यक्रममा नेपाल जेनजी फ्रन्ट (झापा) आयोजक र अग्रगामी झापा–५ समूह स्थानीय आयोजकका रूपमा रहने जनाइएको छ ।
कार्यक्रममा स्थानीय रूपमा जेनजी आन्दोलनमा सक्रिय जेनजी अगुवादेखि नागरिक समाजका प्रतिनिधिका साथै राष्ट्रियस्तरमा जेनजी आन्दोलनको नेतृत्वमा रहेर सक्रिय भूमिका निर्वाह गरेका युवाहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाल जेनजी फ्रन्टका प्रदेश समन्वय समितिका सदस्य आदित्य कर्णले जानकारी दिए ।
उनका अनुसार नेपाल जेनजी फ्रन्टका तर्फबाट संयोजक रक्षा बम, सदस्य यतिष ओझा, काउन्सिल अफ जेनजीका प्रदेश नं १ संयोजक उपार्जुन चाम्लिङलगायत जेनजी अगुवाहरू उक्त कार्यक्रमको वक्ताका रूपमा रहनेछन् ।
ओझा झापा क्षेत्र नं ५ का स्थायी बासिन्दा र मतदातासमेत रहेका छन् । यस जागरणसभाको उद्देश्य जेनजी आन्दोलनका माग र मर्मलाई देशव्यापी रूपमा विस्तार गर्ने, नागरिकबीच संवाद गर्ने र सम्झौतापछिको कार्यान्वयनमा जनस्तरको निगरानी सुनिश्चित गर्ने रहेको कर्णले बताए ।
View : 269
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved