Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

प्रधानमन्त्री कप क्रिकेट छनोट शुरु, मोरङ र झापाको विजयी सुरुवात

उद्घोष सम्वाददाता
१९ पुष २०८०, बिहिवार

सुनसरी । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको कोशी प्रदेशको छनोटमा मोरङ र झापाले बिजयी सुरुवात गरेका छन् । बिहीबारदेखि सुरु प्रादेशिक छनोट अन्तर्गत उद्घाटन खेलमा मोरङले सुनसरीलाई ६६ रनले पराजित गरेको छ ।

सुनसरीको भोक्राहा नरसिंहस्थित डा खालिल आजाद खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मोरङले उद्घाटन सत्र लम्बिएपछि छोट्याइएको ३४ ओभरको खेलमा ३३ दशमलव ३ बलमा १० विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो ।

१ सय ४ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुनसरी १९ ओभरमा ३७ रनमा समेटिएपछि मोरङले सहज जित हात पारेको हो । बिहीबार नै इटहरीस्थित जनता क्रिकेट मैदानमा भएको अर्को खेलमा झापाले उदयपुरलाई ८७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । 

प्रतियोगिताको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गरेका थिए । फ्रतियोगिता अन्तर्गत शुक्रबार जनता त्रिकेट मैदान इटहरीमा सुनसरी र उदयपुरबीच खेल हुनेछ । शुक्रबार नै डा खालिल आजाद खेल मैदानमा इलाम र झापाबीच प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक अफजल हुसेनले जानकारी दिए ।

एक सातासम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरका खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् । बिजेता तथा उपबिजेता सहित बिधागत उत्कृष्टलाई नगदसहित पुरस्कृतसमेत गरिने आयोजक सुनसरी जिल्ला क्रिकेट संघले जनाएको छ ।

उत्कृष्ट प्रदर्शन गर्ने १८ जना खेलाडी छनोट गरिने र उनीहरुले आगामी साता काठमाडौं र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश टोलीबाट खेल्नेछन् ।

View : 113

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved