Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
वातावरण

सुन्दरहरैंचामा जंगली हात्ती मृत फेला

उद्घोष सम्वाददाता
१७ पुष २०८०, मङ्गलवार

सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा नगरपालिका-१० स्थित सामुदायिक वनमा गोली हानेर मारिएको अवस्थामा एक जंगली हात्ती फेला परेको छ । नगरको मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र सोमबार बिहान हात्ती मृत अवस्थामा फेला परेको हो । 

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले हात्तीको  पोस्टमार्टम गरेपछि  शरिरमा गोली भेटिएकोले कसैले गोली हानेर मारेको हुनसक्ने बताए ।  उनले त्यसबारे थप अनुसन्धान भै रहेको बताए ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको भेटनरी चिकित्सकद्वारा  पोस्टमार्टम गरेपछि  हात्तीको दाहसंस्कार गरिएको उल्लेख गरे । प्रहरी र वनको टोलीले घटनामा संलग्नको खोजी कार्य सुरू गरेको घिमिरेले जानकारी दिए ।

सबडिभिजन वन कार्यालय सलकपुरका सहायक वन अधिकृत लालबहादुर माझीले गोली हानेर हत्या गरिएको  हात्तीको पुच्छर गायब भएको बताए । उनले हात्तीलाई गोली हानेर मारेपछि  पुच्छर काटेर लगेको बताए ।

सहायक वन अधिकृत  माझीले हात्तीको देब्रेतर्फको खुट्टाभन्दा माथि र घाँटीनजिक गोलीले छेडेको प्वाल भेटिएको जानकारी दिए ।  मृत भेटिएको सो भाले हात्ती लगभग १० देखि १२ वर्षसम्मको हुनसक्ने उनले बताए ।

घटनास्थल आसपासमा सोमबार बिहान बन्दुक पड्किएको आवाज सुनेको जानकारी स्थानीयले दिएका छन् । घटनास्थल नजिकै सामुदायिक वनको नर्सरी  छ ।

नर्सरीभित्र रहेका बेला हात्तीमाथि गोली प्रहार भएको उल्लेख बताइएको छ । गोली लागेपछि घस्रिदैं र रन्थनिदै तालजाली भत्काएर नर्सरीबाट निस्किएको हात्ती बाटोमा आइपुगेपछि रगत वान्ता गरेर ढलेको पाइएको सहायक वन अधिकृत माझीले जानकारी दिए ।  चोरी शिकारीमा संलग्नले हात्ती मारेको आशंका रहेको उनको भनाइ छ ।

भारतबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरी लगायतका जिल्लामा उपद्रो मच्चाइरहेको बेला सो हात्ती मारिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले सबैभन्दा धेरै झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरिरहेको बताए । पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैंचामा दैनिकजसो हात्तीको हुल देखिने गरेको छ । हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्‍याउदै आएको छ ।

View : 146

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved