Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

नमोनारायणले आफुखुसी हटाए प्रवक्ता

उद्‌घोष संवाददाता
२० साउन २०८२, मङ्गलवार

विराटनगर । ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले आफूखुसी निर्णय गर्दै गाउँपालिकाका प्रवक्ता हटाएका छन् । 

उनले वडा नम्बर ७ का वडाध्यक्ष समेत रहेका विरेन्द्र चौधरीलाई गत शुक्रबार सूचनामार्फत गाउँपालिकाको प्रवक्ताबाट हटाएको घोषणा गरेका हुन् ।

गाउँपालिकामा कार्यपालिकाले सम्पादन गरेको कार्य वा निर्णयहरू सार्वजनिक जानकारीमा ल्याउनका लागि सदस्यहरू मध्ये एक जनालाई प्रवक्ता तोक्ने कानूनी व्यवस्था रहेको भनेपनि उनले त्यस्तो व्यवस्था भने खुलाएका छैनन् । 

यसअघि नै प्रवक्ता तोकिएका वडा नम्बर ७ का वडाध्यक्ष चौधरीले राजनीतिक प्रतिसोधका कारण उनले प्रवक्ताबाट हटाएका हुन् ।

‘सो व्यवस्था बमोजिम यसअघि तपाईँलाई प्रवक्ता तोकिएकोमा तपाईँले कार्यपालिका बैठक र सभाका बैठकहरूमा अमर्यादित व्यवहार गर्नु भएको हुँदा आजकै मितिदेखि लागू हुने गरी तपाईँलाई गाउँ कार्यपालिकाको प्रवक्ताबाट हटाइएको व्यहोरा जानकारी गराउँदछु’ सूचनामा भनिएको छ । 

गाउँ कार्यपालिका र गाउँसभामा अल्पमतमा रहेका कारण आफूखुसी निर्णय गर्न नपाएका अध्यक्ष माझीले त्यसैको प्रतिसोध नेकपा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूमाथि पूर्वाग्रहपूर्ण व्यवहार गर्दै आएका छन् ।

उपनिर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्ष निर्वाचित भएपछि उनी अनेकौं विवादित निर्णय गरेर आलोचित बन्दै गएका छन् । 

उनका विवादित निर्णय र कार्यशैलीविरूद्ध अदालतले समेत ब्रेक लगाउँदै आएको छ । उनले गाउँपालिकामा अन्य दलबाट निर्वाचित जनप्रतिनिधिहरूसँग सौहार्दपूर्वक सम्बन्ध कायम गर्न असक्षम देखिएका छन् ।

View : 516

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved