विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित रेमिट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको १३ औं बार्षिकोत्सव मनाएको छ ।
विदेश गएका आफन्तले मनिट्रान्सफरमार्फत पठाएको रकमलाई परिवारका सदस्यहरूले सबै खर्च मात्रै नगरी बचत गर्न अभिप्रेरित गरेर २०६९ माघ २८ मा रेमिट बचत तथा ऋण सहकारी संस्था स्थापना गरिएको थियो । त्यसरी मनिट्रान्सफरबाट रेमिट्यान्सको कारोबार गर्दै अघि बढाइएको संस्थामा अहिले चार हजार बढी शेयर सदस्यले बचत तथा ऋणको कारोबार गर्दै आएको सहकारी संस्थाकी अध्यक्ष उमा घिमिरेले जानकारी दिइन् ।
उनले रेमिट्यान्सबाट आएको पैसालाई स्थानीय पूँजीका रुपमा एकीकृत गर्दै सहकारी स्थापना गरिएको बताइन् । समाजका लागि केहि गरौं भन्ने भावनाको विकास गरेर अघि बढ्ने क्रममा सहकारीले १३ बर्ष पार गर्न सफल भएको उनले बताइन् ।
सहकारीले हाल विराटनगर–३ पुष्पलाल चोकमा समेत शाखा विस्तार गरेको जनाइएको छ ।
कार्यक्रममा जेष्ठ नागरिक साझा चौतारीका केन्द्रीय अध्यक्ष अध्यक्ष कमल प्रसाद भट्टराई, सरस्वती माविका प्रधानाध्यापक लक्ष्मी प्रसाद गुरागाईँ लगायतको उपस्थिति रहेको थियो ।
सहकारीले आधुनिक बैंकिङ कारोबारका रुपमा ‘रेमिट स्मार्ट वालेट’ मार्फत मोबाइल बैकिङ र एसएमएस बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । हाल सहकारीले २५ करोड रुपैयाँ बढीको पूँजी परिचालन गरिरहेको सहकारीकी सचिव दिक्षा आचार्यले बताइन् । सहकारीको चुक्तापूँजी ३ करोड ६३ लाख रुपैयाँ रहेको जनाइएको छ ।
सहकारीले १४ औं बर्षमा प्रवेश गरेको अवसरमा बुधबार झोराहाटस्थित कार्यालयमा आयोजना गरेको रक्तदानमा २५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र विराटनगरसँगको सहकार्यमा रक्तदान गरिएको हो ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी झोराहाट उपशाखाका अध्यक्ष अशोक कुमार लुइँटेलले बिरामीहरूलाई रगतको अभावलाई पुरा गर्न रक्तदान कार्य गर्नु निकै पुण्य कार्य भएको बताए ।
सहकारीले हरेक बर्ष यस्तै काम गर्दै जाओस् भन्दै शुभकामना दिए ।
रेमिट सहकारीले पालिकाभित्रै पहिलो पटक एम्बुलेन्स सेवा संचालन गरिसकेको छ । सहकारीले सहकारीका सदस्यसहित आम सर्वसाधारणलाई एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको जनाइएको छ ।
View : 309
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved