Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

उद्‌घोष संवाददाता
१९ असार २०८२, बिहिवार

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ ।

उक्त खेल मलेसियामा शनिबार बिहान ७ः४५ बजे सुरु हुने छ । नेपालले बिहीबार भएको सेमिफाइनल खेलमा मलेसियालाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो ।

मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ दशमलव चार ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

यस्तै सिङ्गापुरले हङकङलाई ४ विकेटले हराएर नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । हङकङले दिएको एक सय ६९ रनको लक्ष्य सिङ्गापुरले ३८ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालले यसअघि समूह चरणको खेलमा सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो ।

समूह चरणमा नेपालले भुटानलाई दुई सय ९८ रनले तथा इन्डोनेसियालाई तीन सय ७० रनले पराजित गरेको थियो । यसैगरी सिङ्गापुरले समूह चरणका खेलमा भुटानलाई दुई सय २६ रनले, जापानलाई तीन विकेटले तथा इन्डोनेसियालाई नौ विकेटले पराजित गरेको थियो ।

नेपाल समूह चरणका चारवटै खेल जितेर समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

उक्त समूहबाट दोस्रो स्थानमा रहँदै सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको हो ।

यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थानमा रहँदै तथा मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेका थिए । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।

नेपालले सन् २०२३ मा भएको प्रतियोगितामा फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।

एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी थिए ।

समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका थिए ।

View : 586

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved