विराटनगर । झापामा दुई जना विद्यार्थीको कुटपिटबाट मृत्यु भएको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
शिवसताक्षी नगरपालिका–९ को संगम चोकमा दुई जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि ६ जना नाबालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठका अनुसार संगम चोकमा असार ११ गते साँझ दुई जनामाथि कुटपिट भएको थियो ।
कुटपिटबाट १५ वर्षीय आदित्य तामाङ र १९ वर्षीय रोमन थापा घाइते भएका थिए । आदित्यलाई उपचारको लागि बिएण्डसी अस्पताल लगिएको थियो ।
रोमनलाई बिर्तामोड अस्पतालमा लगिएको थियो । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार रोमनलाई तत्काल त्यही दिन अस्पताल लगिएको थिएन ।
उनी बिरामी परेको भनेर परिवारले असार १४ गते बिहान अस्पताल पुर्याएका थिए । त्यही दिन साढे १० बजे रोमनको मृत्यु भएको थियो ।
‘उनको मृत्यु भएको भोलिपल्ट दाहसंस्कारका लागि घर लगिएको थियो । तर, घर लगिएपछि उनको मृत्यु कुटपिटबाट भएको भनेर प्रहरीलाई सूचना दिइएको थियो’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘त्यसपछि प्रहरीको टोली गएर शव पोष्टमर्टमको लागि लगिएको थियो ।’ रोमनको शव पोष्टमर्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
त्यस्तै उपचारको क्रममा रहेका आदित्यको बिएण्डसी अस्पतालमा उपचार भइरहेको थियो । उनको उपचारको क्रममा दिउँसो २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आदित्यका परिवारले यसबारे अनुसन्धान गर्न असार १६ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
रोमन कक्षा १० र आदित्य कक्षा ८ मा पढ्ने विद्यार्थी थिए ।
‘उनीहरूको रिसइबी भन्ने कुराहरू छ । विद्यालयबाट फर्किएपछि घटना भएको भनिएको छ । अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक श्रेष्ठले भने ।
View : 755
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved