Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

चिसाङ खोला किनारमा अव्यवस्थित उत्खनन्‌, बाढीले जमिन कटानको जोखिम

उद्‌घोष सम्वाददाता
२९ जेठ २०८१, मङ्गलवार

रंगेली । मोरङको रंगेली नगरपालिका–४ स्थित चिसाङ खोलाको किनारमा अव्यवस्थित उत्खनन् भइरहेको छ । जसका कारण बर्षायाममा खेतीयोग्य जमिन कटान र बस्ती डुबानको जोखिम बढेको छ ।

खोला किनारको जमिनमा गहिरो खाडल खनेर माटो निकालिदै गरेको सूचना पाएपछि आइतबार प्रहरीले रोकेको थियो ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले जग्गाधनीले नगरपालिकाबाटै माटो खन्न अनुमति लिएर आएकाले छाडिएको बताएका छन् । माटोको सतह मिलान गर्न अनुमति लिइए पनि चार फिटसम्म गहिरो खाडल हुने गरी खनिएको छ ।

खोला किनारको निजी जमिनको माटो निकाल्न नभई सतह मिलान गर्न मात्रै पाइने सरकारी प्रावधान छ । तर रंगेलीका कारोबारीले स्काभेटर नै प्रयोग गरेर माटो उत्खनन् गरी बिक्री र जम्मा गर्ने गरेका छन् । प्रहरीले रोक लगाएपछि कार्यालय समय सकिए पनि माटोका कारोबारीले नगरपालिकाबाट आइतबार इजाजत लिएका थिए । 

जमिनधनी भन्दा पनि पहुँचवाल माटो कारोबारीले अबैध रुपमा उत्खनन् गर्ने गरेका छन् । चिसाङ खोला किनारको माटो निकालेर रंगेली–७ स्थित आर्यघाट छेउमा थुपारिएको छ ।

बर्षायाममा सो माटोको मूल्य तीन गुणा बढाएर बिक्रीका लागि राखिएको स्थानीय बिपुल पोद्दारले बताए । १५ वर्षअघि चिसाङ खोला सोही स्थानबाट बग्ने गरेको थियो । हाल सो स्थानमा बर्षामा आउने बाढीमा माटो भरिने गरेको छ ।

उब्जनी नभएकाले स्थानीयले खोला किनारको माटो बिक्री गर्ने गरेका छन् । स्थानीय भुपेन्द्र यादवका अनुसार खोला किनारको माटो निकालिएकाले आसपासका खेतीयोग्य जमिन यस वर्षको बर्षायाममा डुबान हुने निश्चित छ । रंगेली–४ का वडा अध्यक्ष किर्ते मुद्दामा फरार भएपछि कारोबारीले खोला किनारमा उत्खनन् बढाएको स्थानीयको भनाइ छ ।

View : 173

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved