विराटनगर । सप्तकोशी नदीको बाढी पसेपछि जलमग्न बनेको उदयपुरको बेलका नगरपालिकाको पूर्वी वस्तीहरू नराम्ररी प्रभावित भएका छन् ।
शनिबारदेखि उदयपुरको बेलका नगरपालिकाको पश्चिमी डिल कटान गर्दै बेलकातिर कोशीको बाढी पसेको थियो । बाढीले आइतबार अपरान्हसम्म साढे ११ सय घर घरपरिवार डुबानमा परेको जनाइएको छ । ६५ वर्षीय वृद्ध सम्पर्कविहीन बनेका छन् ।
बेलका नगरपालिका–२ का ज्ञानबहादुर लिम्बू शनिबार साँझ सात बजेदेखि सम्पर्कविहीन भएकोले उनको खोजी भइरहेको मेयर अशोक कार्कीले जानकारी दिए । ‘उहाँ बेलुका सात बजेसम्म घरैमा रहेको जानकारी पाएका छौँ’ मेयर कार्कीले भने, ‘त्यसपछि सम्पर्कमा हुनुहुन्न, खोजी भइरहेको छ ।’
शनिबार दिउँसोदेखि उदयपुरको बेलकातिर सोझिएको कोशीको भँगालोले बेलकाका चारवटा वडालाई डुबानमा परेका छन् । मेयर कार्कीका अनुसार वडा नम्बर २, ३, ८ र ९ का १ हजार १५४ वटा घर डुबानमा परेका हुन् ।
उनका अनुसार कोशीमा पानीको बहाव घट्दै जाँदा अहिले भने मानव बस्तीतिर सोझिएको पानीको बहाव केही कम हुँदै गएको छ । तर प्रभावित क्षेत्रमा निकै ठुलो समस्या उत्पन्न भइसकेको बताए ।
‘अहिले पानीको बहाव घटेको छ तर डुबानका कारण प्रभावितहरू घरमा बस्ने अवस्था बनेको छैन’, उनले भने ‘११५४ परिवार पूरै प्रभावित भइसकेका छन् ।’
बेलका २ का ४७९ परिवार, ३ का ४६४, ८ का ५९ र ९ नम्बर वडाका १५२ घर परिवार डुबानमा परेको उनले जानकारी दिए ।
दुई वर्ष अघि बाँध फुटाएर कोशी पसेको क्षेत्र र त्यसको एक किलोमिटर आसपासका क्षेत्रबाट सप्तकोशीको बाढी ओभरफ्लो भएर बस्तीतिर पसेको हो ।
बहाव घटेपनि प्रभावित क्षेत्रमा अहिले पनि कोशीको बाढी बगिरहेको जनाइएको छ ।
जलसतह घट्दै गएपछि कोशी तटीय क्षेत्रमा भने कटानको अर्को जोखिम बढ्न सक्ने सम्भावना भएको स्थानीयबासीले बताए ।
चतरापुलमा रहेको जल मापन केन्द्रमा आइतबार बिहान करिव १ बजेसम्म पनि ११ मिटर पानीको बहाव मापन गरिएको थियो ।
कोशी ब्यारेजमा साढे ६ लाख नाघेको बहाव अहिले आधाजसो घटिसकेको जनाइएको छ । जसका कारण जोखिम केही हदसम्म भएपछि कम भएको स्थानीयले बताएका छन् ।
View : 192
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved