Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

१० वर्ष मुनिका बालबालिकाको उपचार निरन्तर छ : स्वास्थ्य मन्त्रालय

उद्घोष सम्वाददाता
१६ भदौ २०८१, आइतवार

विराटनगर । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले दश वर्षमुनिका बालबालिकाको निशुल्क उपचार सेवा कार्यक्रम निरन्तर रहेको बताएको छ । 

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै बालबालिकाहरूको निशुल्क उपचार सेवा रोकिएको भन्ने विषय भ्रामक रहेको भन्दै उक्त सेवा निरन्तर चलिरहेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताद्वारा हस्ताक्षरित विज्ञप्तिमा सामाजिक सञ्जालहरूमा भ्रमपूर्ण समाचारहरू सार्वजनिक भइरहेको भन्दै त्यसप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको बताए ।

चालु आर्थिक वर्षमा ४ करोड २९ लाख रुपैयाँ १० वर्षमुनिका बालबालिकाहरूको निःशुल्क उपचारका लागि विनियोजन भएको विज्ञप्तिमा जनाइएको छ । प्रदेश मातहतका सबै अस्पतालबाट उक्त सेवा लिन सकिने मन्त्रालयको प्रष्ट पारेको छ ।

त्यसैगरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्न समेत चालु आर्थिक वर्ष २०८१/८२ मा बजेटको व्यवस्था गरिएको र पहिलो पटक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बीमा कार्यक्रम सुरु गरिएको मन्त्रालयले जनाएको छ । 

एक फालिका एक महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक सम्मान कार्यक्रम र महिला स्वास्थ्य स्वयंसेवक सम्मान बिदाई कार्यक्रमलाई निरन्तरता दिइएको पनि मन्त्रालयले जनाएको छ ।

सरकारले कडा रोग लागेका व्यक्तिहरूका लागि उपचार सहायता कार्यक्रमका लागि आर्थिक वर्ष २०८१-८२ मा पाँच करोड रुपैयाँ विनियोजन गरिएको जनाइएको छ । मन्त्रालयले सहायता सम्बन्धी कार्यविधि परिमार्जन गरी प्राप्त निवेदन र पेश भएका कागजात अनुसार सहायता रकम प्रदान गर्ने तयारी गरिरहेको विज्ञप्तिमा उल्लेख छ । 

गत आर्थिक वर्षबाट सञ्चालनमा आएको शैलजा आचार्य हृदयरोग उपचार केन्द्रबाट निरन्तर रुपमा सेवा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति व्यवस्थापन तथा अन्य शीर्षकहरूमा बजेट विनियोजन गरिएको तथा उक्त केन्द्रबाट उपचार सेवा समेत नियमित रुपमा सञ्चालन भइरहेको जनाइएको छ । 

केही समययता पूर्वमुख्यमन्त्री केदार कार्कीले बालबालिकाहरूको निःशुल्क उपचार सेवा रोकिएको भन्दै विरोध जनाएका थिए । विरोधपछि सरकारले मन्त्रालयमार्फत कार्कीको अभिव्यक्तिलाई गलत सावित गर्ने प्रयास गरेको हो ।

View : 139

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved